काठमाडाैं-जन-प्रशासन क्याम्पसमा २०७६ जेठ ३ गते भएको २०७६ जेठ ३ गते भएको एमफिल परीक्षाको प्रश्नपत्र आउट प्रकरणमा व्यवस्थापन संकायले तत्कालीन केन्द्राध्यक्ष एवं वर्तमान क्याम्पस प्रमुख हरिभक्त्त शाहीसँग स्पष्टीकरण लिएको छ।
स्पष्टीकरणमा शाहीले आफूहरुले कुनै गल्ती नगरेको र छानबिनका लागि आफू तयार रहेको बताएको डिन डिल्लीराज शर्माले जानकारी दिए।
‘समाचार प्रकाशित भएपछि डिन कार्यालयले उहाँलाई प्रस्टीकरण सोधेको छ,’ डिन शर्माले भने, ‘अन्य प्रमाण जुटाएर छानबिन गर्दैछौँ। दोषी देखिए कारबाही गर्छौं।’
त्रिविले पनि प्रश्नपत्र आउट प्रकरणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। शिक्षाध्यक्ष शिव भुसालले विश्वविद्यालयमा काम गर्ने जोकोहीले गलत गरे पनि कारबाहीको भागिदार हुने बताए। ‘जनप्रशासन प्रश्नपत्र आउट प्रकरणको समाचारले हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ भुसालले भने, ‘विश्वविद्यालयजस्तो मर्यादित ठाउँमा जस्तोसुकै गल्ती गर्ने, जो सुकैलाई पनि कारबाही हुन्छ।’
एमफिल २०७५ ब्याचको २०७६ जेठ ३ गते तय भएको परीक्षाको प्रश्नपत्र अघिल्लै दिन आउट भएको विषयमा नेपाललाइभले समाचार प्रकाशित गरेको थियो।
समाचार प्रकाशनलगत्तै जनप्रशासन केन्द्रीय विभागले परीक्षाको जिम्मा डिन कार्यालयको हुने भन्दै तत्कालीन केन्द्राध्यक्षलाई चोख्याउने गरि प्रेस विज्ञप्ति जारी गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।