नेपालगन्ज– आशिर्वाद पेन्ट्स नेपालगन्ज कप टी–२० प्रतियोगिता अन्तर्गत शुक्रवारको पहिलो खेलमा एनआइसी एसिया दंगाली गोर्खाजले विजयी भएको छ। दंगालीले अर्घाखची सिमेन्ट्स बर्दिया टाइगर्सलाई ८ विकेटले पराजित गरेको हो।
दंगालीले ३ खेलमा दोश्रो जित हात पारेको छ भने बर्दियाले ३ खेलमा १ जित र २ हार बेहोरेको छ ।
बर्दियाले दिएको १ सय ३० रनको लक्ष्य दंगालीले १७ ओभरमा २ विकेट गुमाएर भेटायो। दंगालीका लागि ओपनिङ ब्याट्म्यान मनोज सुनारले ५० रन बनाए। ३४ बल खेलेका उनले ६ चौका र २ छक्का प्रहार गरेका थिए। उनी प्लेयर अफ द म्याच समेत चुनिए। उनले अर्का ओपनर सन्दीप सुनारसँग पहिलो विकेटको लागि ४२ रनको साझेदारी गरेका थिए।
सन्दीप २९ रन बनाएर आउट भए। उनले १७ बलमा ४ चौका र २ छक्का हिर्काए। विनायक गिरी र अमरसिंह रौटेलाले तेश्रो विकेटको लागि ४७ रनको साझेदारी गरे। अमरले ३५ बलमा २ चौका र १ छक्का मदतले २४ रन तथा अमरले १६ बलमा ५ चौका मदतले २३ रन बनाए। बलिङतर्फ बर्दियाका आकाश बिष्ट र अविनाश बोहाराले समान १-१ विकेट लिए।
त्यसअघि टस हारेर ब्याटिङ गरेको बर्दियाले २० ओभरमा ७ विकेट गुमाएर १ सय २९ रन बनाएको थियो। खराब सुरुवात गरेको बर्दियाका लागि सातौं विकेटको लागि अविनाश बोहोरा र आकाश बिष्टले ३६ रनको साझेदारी गर्दै टिमको स्कोर १ सय २९ पुर्याएका थिए। आकाशले २५ रन बनाए। उनले १५ बलमा २ छक्का र १ चौका हिर्काए भने अविनाश बोहराले ९ बलमा २ छक्का मदतले अविजित १५ रन बनाए।
यसअघि राजविर सिंहले २८, भरत थापाले १६, नवीन ओलीले १७ रन र कप्तान सुबेन्दु पाण्डेले १२ रन योगदान दिए। दंगालीका लागि बिष्णु कटारिया र अमरसिंह रौटेलाले समान २-२ विकेट हात पारे। यस्तै अनिल खरेल, सहिद अन्सारी र सागर ढकालले समान १-१ विकेट हात पारे।
दोस्रो खेलमा पप्पु कन्सट्रक्सन रोल्पा गोरिल्लाजले आर्शिवाद पेन्ट्स पाल्पा योद्याजलाई १९ रनले हराएको छ।
टस हारेर ब्याटिङ गरेको रोल्पाले १९.१ ओभरमा सबै विकेट गुमाएर १ सय ६ रन बनाउन सक्यो। ओपनिङ ब्याटिंग गरेका कप्तान सौरभ खनालले अन्तिम विकेटको रुपमा आउट हुनु अघि ४८ रनको जोडे। उनले ५६ बलमा ५ चौका र २ छक्का प्रहार गरे। समसुद्दिन अन्सारीले १३ रन र आकाश थापाले १० रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। पाल्पाका लागि सिद्धान्तराज शाहीले सर्वाधिक ३ विकेट लिए भने विजय चौधरी र दिपेन्द्र रावतले २-२ विकेट लिए। सिद्धान्तले ४ ओभरमा १ मेडन ओभर सहित मात्र १९ रन खर्चिए।
१ सय ७ रनको लक्ष्य पछ्याएको पाल्पा १६.१ ओभरमा८८ रनमा अलआउट भयो। पाल्पालाई सस्तोमै समेट्न रोल्पाका विनोद लामाले ३ विकेट हात पारे। उनले ३.१ ओभरमा १३ रन मात्रै खर्चिए। नन्दन यादव र बसन्त कार्कीले समान २-२ विकेट लिए। पाल्पाका लागि प्रकाश केसीले सवैभन्दा बढी २० रन, प्रनित थापाले १५, भीम धमलाले १३ रन र रित गौतमले ११ रन योगदान दिए।
प्लेयर अफ द म्याच रोल्पा गोरिल्लाजका विनोद लामा घोषित भए।
शनिबार पहिलो खेल एबरोल टी एम टी लुम्बिनी यात्रीज र आर्शिवाद पेन्ट्स पाल्पा योद्याजबीच हुनेछ। दोस्रो खेल जिसान बाँके ब्लास्टर र एनआइसी एसिया दंगाली गोर्खाजबीच हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।