प्रतीकात्मक तस्बिर
हुम्ला- पहिराेले हुमलाको ताँजकोट वडा नं ४ खर्राको दलित बस्तीका २२ घरधुरीले बस्ती छाडेका छन्। लगातारको वर्षाले खर्राको जिमकोइला खोलामा गएको पहिराबाट दलित बस्तीका सबै घर भत्किने अवस्था भएपछि बिहीबार बिहानैदेखि सबै घर छाडेर अन्यत्र बसेको धनसुर दमाईले जानकारी दिए।
पहिराले दुई घरमा क्षति पुगेको छ। अन्य घर पनि जाेखिममा परेपछि उनीहरुले देउला गैरामा पाल टाँगेर बसेको दमाईले बताए। उनले भने, 'पहिरोले हाम्रो त उठीवास गरायो।'
माथिबाट आएको पहिराका कारण उनीहरु घर खाली गरेर बारीमा सरेका छन्। आफूले लगाएको मकै, कोदो, धान सबै पहिराले लगेकाे स्थानीय तुथा परियारले बताए। 'झुण्डिएको अवस्थामा रहेका घरलाई कतिखेर पहिरोले बगाउने हो भन्ने डर भएपछि दलित बस्तीका सबै घरधुरीले आफ्ना घर खाली गरेका छन्' उनले भने।
पहिराेमा परेर मानवीय र पशुचौपायाको क्षति नभए पनि प्रतिघर चार हल जग्गा बगाएर लगेको स्थानीयवासी धनसुर परियारले बताए। पहिरोस्थलबाट प्रहरी चौकी टाढा भएकाले क्षतिको यकिन विवरण आउन बाँकी छ। प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीले पहिरो गएर दलित बस्ती जोखिममा रहेको खबर आएपछि कवाडी सीमा प्रहरीचौकीको टोलीलाई स्थलगत रुपमा बुझ्न पठाइएको जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।