काठमाडौं- पहिरोले बाटो अवरुद्ध भएपछि स्वास्थ्य सेवा विभागले माग गरेका भिटिएमलगायतका अतिआवश्यक स्वास्थ्य सामग्री तातोपानी भन्सारमै अड्किएपछि काठमाडौं ल्याउनका लागि हेलिकोप्टरबाट बन्देउसम्म ल्याइने भएको छ। बन्देउबाट भने गाडीमा काठमाडौं ल्याइने जानकारी दिइएको छ।
बाढी र पहिरोका कारण बाह्रबिसेभन्दा अगाडिका भागमा ठाउँठाउँमा सडक भत्किएपछि सडकमार्ग हुँदैं ती स्वास्थ्य सामग्री (भिटिएम) काठमाडौं पठाउन नसकिने भएकाले हेलिकोप्टरबाट बन्देउसम्म ल्याइने भएको छ। बन्देउबाट भने गाडीमा राखेर काठमाडौं ल्याइने भएको हो।
तातोपानी भन्सारमा जाँचपास सकिएर राखिएका ती सामग्री भोटेकोशी-२ को थामी गाउँसम्मसम्म मजदुरहरुले बोकेर पुर्याएको र त्यहाँबाट हेलिकोप्टरबाट बन्देउसम्म लैजाने क्रम जारी रहेको तातोपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले जानकारी दिए। ८ सय ७४ कार्टुन भिटिएम बोकेर बिहीबार थामी गाउँ पुर्याइएको थियो। अहिले ती सामग्री धमाधम हेलिकोप्टरबाट बन्देउ ल्यादैंछ।
बिहीबार नै ती सामग्री काठमाडौं पुग्ने भन्सार प्रमुख खत्रीले बताए। ती भिटिएम नीजि व्यवसायीले स्वास्थ्य विभागको मागअनुसार ल्याएको थियो। भिटिएम कोरोना आशंका गरिएका व्यक्तिको स्वाब संकलन गर्ने भाँडो हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।