काठमाडौं- राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्यसचिवका लागि अहिलेसम्म १३ जनाले आवेदन दिएका छन्। ‘राष्ट्रिय खेलकुद विकास ऐन, २०७७’ लागु भएसँगै खालि रहेको सदस्यसचिव पदका लागि पहिलोपटक खुला आवेदन मागिएको हो।
बिहीबार आवेदनको अन्तिम दिन दिउँसो १२ बजेसम्म १३ जनाको आवेदन परेको हो। अहिलेसम्म सदस्य सचिवका लागि आवेदन दिनेहरुमा निवर्तमान सदस्यसचिव रमेश कुमार सिलवालसँगै रोशन महर्जन, अनिल अधिकारी, हर्क बहादुर राई, मिना श्रेष्ठ, शिवराज भट्ट, लिल बहादुर थापा, रवि राजकर्णिकार, अच्युत लामिछाने, निलम बज्राचार्य, अन्जु श्रेष्ठ, मेघराज पौडेल र रामेश्वर श्रेष्ठ रहेका छन्।
निलम बज्राचार्य र अन्जु श्रेष्ठ पूर्व राष्ट्रिय महिला भलिबल खेलाडी पनि हुन्। यस्तै अनिल अधिकारी नेपाल क्रिकेट संघको बागमती कोषाध्यक्ष हुन्। रविराज कणिकार एथ्लेटिक्स संघमा आबद्ध छन्।
यस्तै मेघराज पौडेल नेपाल क्लाइम्बिङ स्पोर्टस् एशोसियसनका महासचिव हुन्। पर्वतीय खेलकुदमा लामो समयदेखि काम गरिरहेका पौडेल खेलकुद क्षेत्रको पराम्परावादी शैली फेरेर काम गर्ने टिमका साथ अघि बढ्ने योजनामा आफूले उम्मेदवारी दिएका बताउँछन्।
यस्तै पहिलो आवेदन दिने रोशन महर्जन गएको १० वर्षदेखि नेपाल व्यायाम मन्दिरमा कार्यसमितिमा नै रहेर काम गरिरहेका व्यक्ति हुन्। उनी शारीरिक सुगठनका निर्णायक पनि हुन्। राजनीतिक हस्तक्षेप नभइ स्वतन्त्र रुपमा सदस्य सचिवको छनोट हुने हो भने आफू स्वतः सदस्य सचिवमा छनोट हुने महर्जन बताउँछन्।
आवेदन दिनेहरुले संक्षिप्त कार्ययोजनाको साथमा नेपाली नागरिकताको प्रतिलिपी, नेपाल सरकारबाट मान्यताप्राप्त विश्वविश्द्यालयबाट कम्तीमा स्नातक तह उतीर्ण प्रमाणपत्रको प्रतिलिपी र खेलकुद क्षेत्रमा कम्तिमा पाँचवर्ष काम गरेको अनुभवको प्रतिलिपी पेश गरेका छन्।
युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियाको संयोजकत्वमा रिमबहादुर रानाभाट र इन्दिरा निरौला सदस्य रहेको सिफारिस समितिले आवेदन दिनेमध्येबाट एक महिलासहित तीन जनाको नाम मन्त्रालयमा पेश गर्नेछ।
तोकिएको समयभित्र प्राप्त भएका कार्ययोजनाहरुलाई सिफारिस समितिले अध्ययन गर्ने र कुनै उमेदवारलाई सिफारिस समितिले थप स्पष्ट हुन चाहेमा बैठकमा बोलाई छलफल गर्न सक्ने कार्यविधिमा उल्लेख छ।
मन्त्रालयले मन्त्रीपरिषदमा पेश गरेको तीन नामबाट एक सदस्य सचिव हुनेछन्। त्यसरी मन्त्रालयको सिफारिसमा मन्त्रीपरिषदबाट नियुक्त भएका सदस्य सचिवको कार्यकाल चार वर्षको रहनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।