काठमाडौं– पार्टी एकताका लागि भन्दै छलफलमा रहेका नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' बीच शुक्रबार भेटवार्ता भएको छ। भेटका क्रममा सहमति जुटाउन निरन्तर छलफल गर्ने सहमति भएको छ।
बिहीबार पनि वा टु वान वार्ता गरेका दुई शीर्ष नेताले शुक्रबार चार घन्टासम्म बालुवाटारमा छलफल गरे। सो क्रममा दाहालले पार्टी एकतापछि हुने महाधिवेशनबाट आफूले नेतृत्व पाउने सुनिश्चितता हुनुपर्ने माग गरेका थिए। ओलीले भने महाधिवेशनले सबैलाई चित्त बुझाउने व्यक्ति नेतृत्वमा आउने बाटो खुला राख्नुपर्ने धारणा राखेका थिए।
दुई पार्टीबीच एकताको विषय जनयुद्ध, एकीकृत पार्टीको चुनाव चिह्न र केन्द्रीय नेताहरुको व्यवस्थापनको विषय जस्ता मतभेदमा अड्किएको छ। एउटै कम्युनिस्ट पार्टी बनाउने घोषणासहित प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा भाग लिएर बहुमत हासिल गरे पनि निर्वाचन सकिएको तीन महिनासम्म एकता हुन सकेको छैन।
यसअघि बैसाख ९ गते पार्टी एकीकरणको घोषणा गर्ने भनिए पनि त्यो सम्भावना टरिसकेको दलकै नेताहरुले बताइसकेका छन्। यसअघि पार्टी एकता संयोजन समितिलाई कार्यदलले विवादित केही विषय बाहेक अन्यलाई समाधान गर्दै प्रतिवेदन बुझाएको थियो। उक्त प्रतिवेदनमा आधारित हुँदै दुई अध्यक्षबीच छलफल भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।