काठमाडाैं- मेलम्ची खानेपानी आयोजनाभित्रको सुरुङको ढोका फुटेर भएको दुर्घटनबारे अध्ययन गर्न खानेपानी मन्त्रालयले प्राविधिक समिति गठन गरेको छ। मन्त्रालयका प्रवक्ता सहसचिव रितेशकुमार शाक्यले बुधबार सहसचिव रमाकान्त दवाडीको नेतृत्वमा ६ जना प्राविधिकको अध्ययन समिति बनाइएको जानकारी दिए।
उक्त समितिले आयोजनाअन्तर्गत सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका अम्बाथानभित्र रहेको गेट नम्बर १७ को ढोका के कारणले खुलेको हो? कसरी दुर्घटना भएको हो? भन्नेबारे प्रतिवेदन दिने छ।
‘सुरुङभित्रको गेट अचानक खुलेको भन्ने सार्वजनिक भएको छ। तर, के कति कारणले खुल्यो एकीन नभएकाले अध्ययन गरी प्रतिवेदन पेश गर्न यस्तो समिति गठन गरिएको छ,’ उनले भने, ‘६ सदस्यीय प्राविधिक टोली बनाएका छौं। उक्त टोली बुधबार नै प्रस्थान गरेको छ।’
समितिलाई प्रतिवेदन दिन समय तोकिएको छैन। तर, सकेसम्म छिटो प्रतिवेदन दिन भनिएको उनले बताए। अध्ययनपछि मर्मत गर्नुपर्ने देखिएमा छिट्टै मर्मत गरी पुनः सुरुङमा पानी परीक्षण गर्नुपर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।