काठमाडाैं- लकडाउन अवधिकाे तीन महिनामा १ हजार १ सय १९ जना मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटनाबाट पीडित भएकाे अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले जनाएको छ। इन्सेकद्वारा असार २९ गते जारी लकडाउनका तीन महिनाको आवधिक प्रतिवेदनमा याे तथ्यांक सार्वजनिक गरिएको हो।
प्रतिवेदनमा समेटिएका तथ्य तथ्यांकहरु २०७६ चैत ११ गतेदेखि २०७७ असार १० गतेसम्मका रहेकाे इन्सेकले जनाएको छ। यो अवधिमा राज्य पक्षबाट तीन जना महिलासहित ६४ जना र अन्य पक्षबाट ८ सय ४१ जना महिलासहित १ हजार ५५ जना गरी १ हजार १ सय १९ जना पीडित भएका इन्सेकले जनाएको छ।
‘अभिलेखित घटनामध्ये महिलामाथि भएका ज्यादतीका घटनामा ४ सय ७६ जना र बालबालिकामाथि भएका ज्यादतीका घटनामा २ सय ८४ जना पीडित भए। त्यसैगरी, यो अवधिमा ११ जनालाई अमानवीय व्यवहार गरिएको, पाँच जनालाई धम्की दिइएको, १ सय १२ जना घाइते भएको, १ सय २ जनालाई कुटपिट गरिएको, ६ जनालाई अपहरण गरिएको, ३१ जनालाई गिरफ्तार गरिएको, ७२ जनाको हत्या भएको, दुई जनालाई प्रहरी हिरासतमा यातना दिइएको र जातीय विभेदका घटनामा १२ जना पीडित भएको इन्सेकले अभिलेख गर्यो,’ प्रतिवेदनमा उल्लेख छ।
लकडाउनका तीन महिनामा २५ जना स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार भएका घटना इन्सेकले अभिलेख गरेको छ। मानव अधिकारको संरक्षण र संवर्द्धनमा राज्यको दायित्व हुने भएपनि यस अवधिमा राज्यका संयन्त्रको व्यवहार सन्तोषजनक हुन नसकेको भन्दै इन्सेकले स्वास्थ्यकर्मी र पत्रकारमाथि आक्रमण तथा दुर्व्यवहारका घटनामा संलग्नलाई कारबाहीको दायरामा ल्याउन माग गरेकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।