संखुवासभा- संखुवासभाको उत्तरी क्षेत्रमा रहेको सिलिचोङ गाउँपालिका–१ को बेसिन्दागाउँमा लगातार परेको वर्षाका कारण तीन दिनअघि नौ घर पहिरोले बगाएर हराइरहेका ११ जनाको खोजीकार्य जारी छ। खोजीकार्यमा संलग्न मदन राईको हृदयाघातका कारण मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।
गृह मन्त्रालयको हेलिकोप्टरको सहायतामा प्रदेश नं १ सरकारले पहिरोको चपेटामा परेका बेसिन्दागाउँका ८२ घरका ३४९ जनालाई कम्बल, टेन्ट, म्याट्रेस, खाद्यान्नका सामग्री दाल, चामल, तेल, नुनलगायतका सामग्रीहरु पहिलोपल्ट उपलब्ध गराएको छ भने थप सामग्री लैजाने तयारीमा रहेको संखुवासभाका प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यले जानकारी दिए। आचार्यका अनुसार तीन दिनअघि गएको पहिरोमा बेपत्ता भएका ११ जनाको खोजीका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीसहित स्थानीय सरकार र स्थानीय बासिन्दाको सक्रियतामा खोजीकार्य जारी राखिएको छ।
पहिरो गएको स्थल निरीक्षणका लागि गएका प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले खराब मौसमका कारण संखुवासभाको तुम्लिङटार विमानस्थल उत्रिएर स्थानीय प्रशासन, राजनीतिक दल र सरोकार पक्षहरुसँग भेटघाटका साथ पहिरो र त्यसले पुर्याएको क्षतिका बारेमा जानकारी लिएका थिए।
यसैगरी पूर्व खानेपानी राज्यमन्त्री दीपक खड्काले पहिरो गएको स्थलमा आफ्नो निजी खर्चमा हेलिकोप्टरबाट खानेपानीलगायत दैनिक आपूर्तिका लागि पोली पाइप, त्रिपाल, टेन्ट, म्याटलगायत ५०० किलोभन्दा बढी खाद्यान्नसहितका सामग्री उपलब्ध गराउँदै पहिरोपीडितका लागि जतिसक्दो चाँडो राहत उपलब्ध गराउन नेपाल सरकारलाई आग्रह गरेकाे कांग्रेसका जिल्ला सभापति दिपनकुमार श्रेष्ठले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।