वाराणसी– भारतको बनारस हिन्दु विश्वविद्यालय (बिएचयू) मा शनिबार राति छात्राहरुमाथि भएको लाठीचार्ज घटनाबारे अनुसन्धान हुने भएको छ । दशहरा छुट्टीको विषयमा छात्राहरुले गर्न लागेको प्रदर्शन रोक्न विश्वविद्यालय प्रशासनले प्रहरी बोलाएको थियो । यसै क्रममा प्रहरीले अन्धाधुन्ध लाठीचार्ज गरेको थियो।
घटनामा प्रहरीले १ हजार छात्रा विरुद्ध मुद्दा दायर गरेको छ । बिएचयुले दशहराको अवसरमा २८ सेप्टेम्बरदेखि २ अक्टुबरसम्म छुट्टी दिने घोषणा गरेको थियो । तर, विश्वविद्यालय प्रशासनले पूर्व निर्धारित छुट्टीभन्दा ३ दिन अगाडि नै छुट्टी दिने घोषणा गरेपछि छात्राहरु शनिबार विरोधमा उत्रिएका थिए । त्यस क्रममा प्रहरीले अन्धाधुन्ध लाठी प्रहार गरेको थियो।
लाठीचार्जको घटनाको विरोधमा छात्राहरुले आइतबार बिहान क्याम्पस परिसरमा शान्तिपूर्ण जुलुश गर्न खोजेका थिए । तर, प्रशासनले पुनः प्रहरी बोलाएर दमन गर्न खोजेपछि स्थिति तनावपूर्ण भएको थियो।
उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले घटनाबारे छानबिन गर्न सोमबार निर्देशन दिएका छन् । विद्यार्थीको आन्दोलनमा एेक्यबद्धता जनाउन समाजवादी दल र भारतीय कंग्रेसका प्रदेश अध्यक्ष राज बब्बर आइतबारै वाराणसी पुगेका थिए । तर, प्रहरीले उनीहरुलाई बीचैमा पक्राउ गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।