काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले बिचौलियाका हितमा नभई बृहत्तर पशुपति क्षेत्रको हितमा लाग्न पशुपति क्षेत्र विकास कोषका पदाधिकारी तथा कर्मचारीलाई निर्देशन दिएका छन्। कोषको समीक्षा बैठकलाई आइतबार सम्बोधन गर्दै मन्त्री भट्टराईले यस्तो धारणा राखेका हुन्।
'यदाकता कोही बिचौलियाका स्वार्थमा पनि काम हुने गरेको गुनासो सुन्ने गरिएको छ, त्यस्तो काम जो कोहीले गरेको भएपनि राम्रो होइन,' मन्त्री भट्टराईले भने, 'जे गर्ने हो, त्यो पशुपतिको हितलाई ध्यानमा राखेर मात्र गर्नुहोला।’
गत पुस २६ मा मन्त्री भट्टराईले पशुपति क्षेत्रको स्थलगत भ्रमण गरेका थिए। भ्रमणका क्रममा तत्कालीन र दिर्घकालीन कामबारे ४८ बुँदे निर्देशन दिएका उनका केही निर्देशन विवादित समेत बनेका थिए।
ती निर्देशन कार्यन्वयबारे बुझ्न ६ महिनापछि आइतबार मन्त्री भट्टराईले कोषको कार्यलयमै समीक्षा बैठक राखेका थिए।
कोषको गोठाटारको जग्गा अतिक्रमणबारे शनिबार मात्रै विभिन्न संचार माध्यमहरुमा समाचारप्रति आफ्नो ध्यानाकर्षण भएको उल्लेख गर्दै मन्त्री भट्टराईले छिट्टै चार किल्ला निश्चित गरेर आफ्नो जग्गामा तारबार गर्न कोषलाई निर्देशन दिए। साथै कुनै संरचना बनाइएका भए तुरुन्तै हटाउनसमेत उनको निर्देशन छ। स्वास्थ्य सुरक्षासम्बन्धी प्रोटोकल बनाएर पशुपतिनाथको दर्शन पनि खुला गर्ने गरी तयारी शुरु गर्न पनि मन्त्री भट्टराईले निर्देशन दिएका थिए।
बैठकमा मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले पशुपति क्षेत्र विश्व सम्पदामा सूचीकृत भएको हुनाले यो क्षेत्रमा नयाँ संचरना निर्माण गर्दा युनेस्कोको मापदण्डलाई समेत आधार बनाएर गर्नुपर्ने बताएका थिए।
बैठकमा कोषका सदस्य सचिव डा प्रदीप ढकाल र कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले लकडाउनका समयमा पनि कोषले गरेका कामहरूबारे जानकारी गराउँदै आउने दिने गर्न लागिएका योजनाका सम्बन्धमा जानकारी गराएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।