काठमाडौं- म्याग्दी पहिरोमा पुरिएर बेपत्ता भएका भएकामध्ये २० जनाको शव भेटिएको छ। बिहीबारदेखि परेको लगातारको वर्षासँगै धवलागिरि, मालिका र रघुगंगा गाउँपालिकामा गएको पहिरोमा पुरिएका उनीहरूको शव भेटिएको हो। शनिबार १९ जना र शुक्रबार एक जनाको शव भेटिएको हो। सोही पहिरोमा परेका अझै १३ जना बेपत्ता रहेको र उनीहरुको खोजी कार्य जारी रहेको म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारी महेश सुवेदीले जानकारी दिए।
यस्तै सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाको जम्बु र भोटेकोशी गाउँपालिकाको बुलकुटेमा बुधबार राती आएको बाढीपहिरोमा परी बेपत्ता भएकामध्ये एक जनाको जीवितै उद्धार भएको छ। अर्का एक व्यक्तिको भने शव भेटिएको छ। बाह्रबिसे बाढीमा परी बेपत्ता भएका ५७ वर्षीय नाप्चे मगर घाइते अवस्थामा भोटेकोशी नदीमा भेटिएको र भोटेकोशी–५ बुलकुटेमा नै ६ वर्षीय साहिल तामाङको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी माधव काफ्लेले बताए।
सिन्धुपाल्चोकमा बुधबार राती आएको बाढीमा परी मृत्यु भएका २ जनाको शव यसअघि नै भेटिएको थियो। जिल्लामा हाल १९ जना बेपत्ता रहेको र उनीहरुको खोजी कार्य जारी रहेको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।
यसैबीच प्रधाननमन्त्री केपी शर्मा ओलीले बाढी पहिरोको समस्या अझै दुई महिनासम्म रहने सक्ने भएकाले पूर्व तयारी गर्न निर्देशन दिएका छन्। विपद व्यवस्थापन परिषद्को शनिबार बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री ओलीले राहत तथा उद्धार सामग्रीहरु जिल्ला र स्थानीय तहसम्म लगेर तयारीका साथमा बस्न सम्बन्धित सबैलाई निर्देशन दिएका हुन्।
आइतबारसम्म देशका अधिकांश स्थानमा वर्षा हुनेका भएकाले सचेत रहन गृह मन्त्रालयले सबैलाई अनुरोध गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।