चौतारा- मेलम्ची खानेपानी परियोजनाबाट प्रभावित क्षेत्र तथा बासिन्दाहरुलाई परिपूरण दिनेसम्बन्धी नियमावली २०७७ मा शुक्रबार मेलम्ची याङ्रीलार्के प्रभावित क्षेत्रका सरोकारवालाहरुले छलफल गरेका छन्।
बैठकमा सहभागीहरूले मेलम्ची र याङ्रिलार्केको खानेपानी परियोजनाले रोयल्टी र प्रभावित क्षेत्रको विकास निर्माणको काममा सहयोग गर्नुपर्ने माग गरेका छन्। यस आयोजनाबाट यसअघि हेलम्बु र मेलम्चीलाई मात्र प्रभावित क्षेत्र तोकिएकोमा सो बैठकले पाँचपोखरी थाङपाल‚ इनद्रावती गाउँपालिका र चौतारा साँगाचोकगढी नगरपालिकालाई पनि प्रभावित क्षेत्रमा राख्नका लागि सुझाव दिएका थिए।
बैठकमा सिन्धुपाल्चोक २ का सांसद शेर बहादुर तामाङ‚ प्रदेश साँसद निमा लामा, ईन्द्रमाया गुरुङ‚ जिल्ला समन्वय समितिका प्रमुख कृष्ण गोपाल तामाङ, मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्याल, पाँचपोखरी थाङ्पाल गाँउपालिका अध्यक्ष टासी लामा ,मेलम्ची, ईन्द्रावाती, हेलम्बु, याङ्रिलार्के सरोकार समितिका प्रमुख‚ राजनितिक दलका प्रतिनिधि र मेलम्ची खानेपानी समितिका उप कार्यकारी निर्देशक रामप्रसाद खरेल लगायत उपस्थित थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।