नेपालगन्ज– बाँकेको कोहलपुरमा जारी आशीर्वाद पेन्ट्स नेपालगन्ज कप क्रिकेटमा बिहीबार अर्घाखाँची सिमेन्ट्स बर्दिया टाइगर्स र पप्पु कन्ट्रक्सन रोल्पा गोरिल्लाज विजयी भएका छन्।
पहिलो खेलमा बर्दिया टाइगर्सले आशीर्वाद पेन्ट्स पाल्पा योद्धाजलाई ८ रनले पराजित गर्यो। पाल्पाको यो लगातार दोस्रो हार हो।
टस हारेर ब्याटिङ गरेको बर्दिया टाइगर्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४१ रनको योगफल तयार गरेको थियो। उसका लागि कप्तान शुबेन्दु पाण्डेले सर्वाधिक ३६ रन बनाउन ३६ बलमा ४ चौका र १ छक्का प्रहार गरे भने विश्वास श्रेष्ठले अविजित २१ रन बनाए। यस्तै आकाश बिस्टले १८ तथा नबिन ओलीले १७ रन योगदान गरे।
पाल्पा योद्धाजका बलर विजय चौधरीले सर्वाधिक २ विकेट लिन ४ ओभरमा ३३ रन खर्चिए। अमित तामाङ, भीम धमला र यस हमालले समान १र१ विकेट हात पारे । जवाफमा १ सय ४२ रन लक्ष्य पछ्याएको आशीर्वाद पेन्ट्स पाल्पा योद्धाजले पूरा २० ओभर ब्याटिङ गर्दा ८ विकेट गुमाएर १ सय ३३ रन मात्रै बनाउन सक्यो। खेलको प्लेयर अफ द म्याच शुबेन्दु पाण्डे घोषित भए।
त्यस्तै, दोस्रो खेलमा रोल्पा गोरिल्लाजले जिसान बाँके ब्लास्टरमाथि ७९ रनको जित हात पार्यो। टस जितेर ब्याटिङ गरेको रोल्पाले निर्धारित २० ओभरमा मात्र ३ विकेट गमाएर १ सय ७२ रनको योगफल तयार गरेको थियो। ओपनिङ ब्याटिङ गरेका सौरभ खनालले अर्धशतकीय इनिङ खेल्दै टिमलाई उत्कृष्ट सुरुवात दिलाएका थिए। ४५ बलमा ६ चौका र २ छक्काको मद्दतले ५३ रन बनाएका सौरभ खनालले पहिलो विकेटको लागि आकाश थापासँग ९५ रनको साझेदारी गरेका थिए। थापाले रन बनाउन ३७ बलमा ४ चौका हिर्काए।
रोल्पा गोरिल्लाजलाई विशाल योगफलतर्फ डोर्याउन भीम शार्कीले अविजित ४६ रनको योगदान गरे। उनले १४ बलमा ६ चौका र ३ छक्का प्रहार गरे। रोल्पाका लागि ५३ रनको अर्धशतकीय पारी खेलेका कप्तान सौरभ खनाल म्यान अफ म्याच घोषित भए।
शुक्रबार हुने पहिलो खेल बर्दिया टाईर्गस र दंगाली गोर्खाज र दोस्रो खेल पाल्पा योद्धाज र रोल्पा गोरिल्लाजबीच हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।