काठमाडौं- मनसुनी वर्षाका कारण देशैभरका नदी र खोलामा बहाब बढेकाे छ। बहाब बढेसँगै तटीय क्षेत्रमा खतरा पनि बढेकाे छ।
शुक्रबार कोसी, नारायणी र आसपासका नदीहरुमा बहाब उल्लेख्य बढ्ने जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले जनाएकाे छ। पानीकाे बहाब बढ्ने भएकाले सतर्कता अपनाउन विभागले आग्रह गरेकाे छ।
पूर्वको कन्काई, कमला, बागमतीलगायतका नदीमा बहाब बढ्ने छ। साथै सहायक नदीहरुमा पनि बहाब बढ्न गई खतराको आसपासमा पुग्न सक्ने अनुमान गरिएको छ।
कर्णाली, महाकाली र यसका सहायक नदीहरुमा पानीको बहाब बढे पनि सतर्कताभन्दा तल नै रहने भएकाे छ। पश्चिम राप्ती बबईलगायतका नदीमा बहाब बढे पनि खतरातह भन्दा तल नै हुने हुने छ।
मेची, विरिङ निन्दा, खाडो, रातो, लालबकैया, पूर्वी राप्तीलगायतमा बहाब सतर्कताकाे आसपास पुग्ने छ। यस्तै प्रदेश एक, प्रदेश दुई, बागमती, गण्डकी, प्रदेश पाँचका मध्य पहाडी तथा चुरे तराईबाट बहने साना नदीहरुमा बहाब सतर्कता आसपासम्म पुग्न सक्ने जनाइएको छ।
यस्तै, प्रदेश एकको झापा, मोरङ, सुनसरी, उदयपुर, संखुवासभा, खोटाङ, ओखलढुङगालगायत सबै जिल्लामा बहाब उच्च हुनसक्नेछ। बागमती प्रदेशका दोलखा, रामेछाप, सिन्धुली, काभ्रे, मकवानपुर, चितवन, धादिङ, नुवाकोट, काठमाडौ उपत्यका र गण्डकी प्रदेशका नवलपरासीपूर्व, लमजुङ, तनहुँ, स्याङजा, पर्वत, कास्की, म्याग्दी, बाग्लुङलगायत आसपासका जिल्लामा रहेका खाेला तथा नदीमा पानीकाे बहाब बढ्न सक्ने बताइएकाे छ।
प्रदेश ५ का तराईका जिल्लामा बग्ने स-साना नदीमा पनि आकस्मिक रुपमा पानीको बहाब बढ्न सक्ने अनुमान गरिएको छ। न्यून चापीय रेखा दक्षिण तराई क्षेत्रबाट उत्तरतिर सर्दै गएकाले शनिवार पनि बदली भई देशका अधिकांश क्षेत्रमा भारी वर्षा हुने सम्भावना रहेकाे विभागले जनाएकाे छ।
शनिबार कोशी र नारायणी नदीसँगै अरु सहायक नदीमा पनि पानीकाे बहाब बढ्नुका साथै सतर्कता आसपाससम्म पुग्न सक्ने अनुमान गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।