काठमाडाैं- भारतीय टेलिभिजन जी न्यूजले प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबारे प्रशारण गरेकाे सामग्रीप्रति नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले गम्भीर ध्यानाकर्षण भएको जनाएकाे छ।
नेपाललाई जोडेर भारतीय सञ्चारमाध्यमबाट हुँदै आएको गलत प्रचार निन्दनीय र आपत्तिजनक रहेकाे फोनिजले जनाएकाे छ। 'सार्वभौमसत्ता सम्पन्न राष्ट्र नेपालको अस्तित्व र आत्मसम्मानमा गम्भीर आघात पुर्याउने अभिप्रायले भारतीय सञ्चारमाध्यमबाट भ्रामक सामग्री प्रसारण भएको र हुँदै आएको ठहर गर्दै फोनिज यस्ता कार्यको भत्र्सना गर्दछ', सचिव मिलन लिम्बूद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
पछिल्लो पटक प्रधानमन्त्री ओली र चिनियाँ राजदूतसँग सम्बन्धित आक्षेपपूर्ण समाचार प्रेसको विश्वव्यापी मान्यता विपरित रहेको फाेनिजले जनाएकाे छ। 'दुई देशबीच कूटनीतिक तहबाट समाधान खोजिनुपर्ने धेरै विषय छन्। तर, भारतीय सञ्चारमाध्यमबाट हुँदै आएको यस्ता गतिविधिले दुई देशको सम्बन्धमा सकारात्मक सञ्चार प्रवाह हुन सक्दैन। त्यसैले, यस्ता निन्दनीय गतिविधिको कूटनीतिक माध्यमबाट खण्डन गर्न फोनिज नेपाल सरकारको ध्यानाकर्षण गराउँदछ', विज्ञप्तिमा भनिएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।