काठमाडौं–अविरल वर्षाले पहिरो गएर घर पुरिँदा लमजुङको बेसीसहर नगरपालिका ७ सातबिसेमा बिहीबार राति एकै परिवारका ३ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ३२ वर्षका दीपक तामाङ, उनकी श्रीमती २५ वर्षीया बिमाया तामाङ र उनीहरुका ९ वर्षीय छोरा छेवाङ तामाङ छन्।
वर्षाका कारण बिहीबार राती साढे १० बजेतिर घरलाई पहिरोले पुरेको थियो। नेपाल प्रहरी र सशस्त्र प्रहरीले उनीहरुको उद्धार गरी मृतक ३ जनाको शव लमजुङ जिल्ला सामुदायिक अस्पतालमा पोष्टमार्टमका लागि ल्याइएको छ।
यसैगरी पहिरो खस्दै गर्दा भागेका बेंसीशहर नगरपालिका-७ का २६ बर्षीय सन्तबहादुर गुरुङ, बेंसीशहर-१० पांग्रेक्युका २३ बर्षीय अनिल गुरुङ, २३ बर्षीय सुमन गुरुङ घाइते भएका छन्।
उनीहरुको बेंसीशहरस्थित लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जानकारी दिए। पहिरोले बेसीसहर–चामे सडक पनि अवरुद्ध भएको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।