काठमाडौं- नेपालमा प्रसारण हुने विदेशी च्यालनका वितरकहरूले भारतीय समाचार माध्यम (न्युज च्यानल)को नेपालमा प्रसारण बन्द गर्ने घोषणा गरेका छन्। उनीहरूले भारतीय च्यानलले अतिरञ्जित विषयवस्तु प्रसारण गरेको भन्दै त्यसलाई रोक्ने निर्णय गरेका हुन्।
भारत सरकारको स्वामित्वमा सञ्चालित दूरदर्शनबाहेक सबै न्युज च्यानलको प्रसारण रोक्ने उनीहरूको तयारी छ। बिहीबारबाट नै भारतीय न्युज च्यालन बन्द हुने उनीहरूको भनाइ छ।
नेपालका करिब आधा दर्जन वितरकले यस्तो निर्णय गरेका हुन्। वितरकहरूको यो निर्णयसँग अधिकांश नेपालीका घरमा भारतीय न्युज च्यानल आउने छैनन्।
भारतीय समाचार च्यानल जी न्युजले नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीलाई जोडेर समाचारको शैलीमा अतिरञ्जित गरी सार्वजनिक गरेपछि नेपालमा विदेशी च्यानल प्रसारण गर्दै आएका वितरकहरूको यो कदम अघि आएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।