काठमाडौं–सरकारले नेपाल रेडक्रस सोसाइटीलाई सात दिनभित्र स्पष्टीकरण दिन निर्देशन दिएको छ। संस्थामा भएको अनियमितताका विषयमा स्पष्टीकरण उपलब्ध गराउन सरकारले सात दिनको म्याद दिएको हो।
नेपाल रेडक्रसमा भएको अनियमितताका सम्बन्धमा प्रष्ट पार्न मन्त्रिपरिषदले स्पष्टीकरण मागेको हो। मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै अर्थ,सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले उक्त जानकारी गराएका छन्।
संस्थाको विरुद्धमा आर्थिक अनियमितता,कर्मचारी भर्नामा मनलाग्दी,खर्चमा पारदर्शीता नभएको लगायतका दर्जनौं उजुरी सरकारी निकायमा परेका छन्। संघ संस्था दर्ता ऐनअनुसार सञ्चालन भएको संस्थाले नवीकरण गर्न नसक्दा अवैधानिक समेत भएको बताइएको छ। कर चुक्ता पेश गर्न नसक्दा संस्था नवीकरण हुन सकेको छैन।
संस्थामा भएको अपारदर्शीताको छानविन गर्न महिला,बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले एक छानविन समिति गठन गरेको थियो। संघ सस्था ऐनअन्तर्गत समाज कल्याण परिषद मातहत रेडक्रस सञ्चालित छ।
सञ्जीव थापाको नेतृत्वमा रहेको संस्थाको विरुद्धमा जिल्ला प्रशासन,अख्तियार,गृह र परराष्ट्र मन्त्रालयमा अनियमितताको उजुरी परेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।