काठमाडाैं- नेपाल पत्रकार महासंघले प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबारे भारतीय सञ्चारमाध्यम जी न्यूजले असत्य, भ्रामक र कपोकल्पित सामग्री प्रशारण गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएकाे छ। भारतीय सञ्चारमाध्यमबाट अत्यन्त तल्लो स्तरबाट गरिएको प्रचार निन्दनीय र आपत्तिजनक भएकाे महासंघका महासचिव रमेश विष्टले बिहीबार जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ।
'भारतीय सञ्चारमाध्यमले गरेको यो प्रचार पीत पत्रकारिताको नमूना हुनुका साथै प्रेसको विश्वव्यापी मान्यताविरुद्ध रहेको महासंघको ठहर छ', विज्ञप्तिमा भनिएकाे छ, 'महासंघ भारतीय सञ्चारमाध्यमको अनर्गल र बकवासपूर्ण प्रचार/प्रसारको कडा शब्दमा भत्र्सना गर्दछ।'
महासंघले प्रधानमन्त्रीविरुद्ध भारतीय सञ्चारमाध्यमबाट संप्रेषण भएका झूठा र आक्षेपपूर्ण समाचारको सम्बन्धमा कूटनीतिक माध्यमबाट खण्डन गर्न र आगामी दिनमा यस्ता कुप्रचार दोहोरिन नदिन कडा कदम चाल्न सरकारको गम्भीर ध्यानाकर्षण गराएकाे छ।
भारतीय टीभी च्यानल जी न्यूज (बिहार झारखण्ड)ले हालै प्रधानमन्त्री केपी शर्मा र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको सम्बन्धमाथि काल्पनिक र आपत्तिजनक रिपोर्ट प्रसारण गरेको थियाे।
‘ओली कि ईश्कीया’ शीर्षकमा प्रसारित रिपोर्टमा टिभीले चिनियाँ राजदूत यान्छीलाई ‘विषकन्या’ को संज्ञा दिँदै उनकै जालमा फसेर ओलीले भारतविरोधी कदम चालिरहेको दाबी गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।