चौतारा- बुधबार मध्यराति सिन्धुपाल्चोकको बाह्रबिसेको जम्मुमा पहिरो गएसँगै भोटेकोशीमा ठूलो बाढी आयो। उक्त विपदमा परी २ जनाको घटनास्थलमै ज्यान गएको छ भने अन्य २० जना बेपत्ता भएका छन्।
पहिरोले १४ घरहरु पुरिएका छन् भने १ सय २ मेगावाट उत्पादन क्षमताको मध्यभोटेकोशी जलविद्युत आयोजना क्षेत्र बाढीका कारण डुबानमा परेको छ। आयोजना प्रमुख सुनीलकुमार लामाका अनुसार बाढी र पहिरोका कारण आयोजनामा भएको क्षतिको यकीन भइसकेको छैन। तर बाढीबाट पुरै आयोजना प्रभावित भएको छ।
उक्त क्षेत्रमा बाढीले वितण्ड मच्चाएपछि उक्त क्षेत्रका सांसदहरु बिहानैदेखि उद्धारमा सक्रिय भएका थिए। सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा पर्ने उक्त क्षेत्रका नेकपाका सांसद तथा सभामुख अग्नी सापकोटा बिहानै हेलिकोप्टर लिएर जाने प्रयासमा लागेका थिए। उनीसँगै नेकपाका केन्द्रीय सदस्य माधव सापकोटा सुवोध पनि बिहानैदेखि हेलिकोप्टर लिएर सो क्षेत्रमा पुग्ने प्रयासमा लागेका थिए ।
त्यस्तै सोही क्षेत्रका अर्का नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहनकुमार बस्नेत पनि उक्त क्षेत्रमा उद्धारका लागि हेलिकोप्टर लिएर जाने प्रयासमा थिए। पहिलो पटक धुलिखेल पुगेको सभामुख सापकोटाको हेलिकोप्टर मौसम अनुकुल नहुदाँ फर्केको थियो। त्यस्तै नेकपाका केन्द्रीय सदस्य सुबोधको हेलिकप्टर काभ्रेको नेपालथोकमा अवतरण गरिएको थियो।
बिस्तारै मौसममा सुधार आएपछि उनीहरु हेलिकप्टर लिएर घटनास्थल पुगेका थिए। यसरी सिन्धुपाल्चोकको उक्त क्षेत्रमा नेकपा र नेपाली कांग्रेस दुई पार्टीका तीन हेलिकोप्टर उद्धारका लागि पुगेका थिए। सिन्धुपाल्चोकले केही वर्षदेखि एकपछि अर्को प्राकृतिक विपत्ति भोग्दै आएको छ। जुरे पहिरो र गत वर्ष आएको बाढीले पनि निकै क्षति पुर्याएको थियो। यसरी हेलिकोप्टर मार्फत घाइतेहरुको उद्धार गरी अहिले थप उपचारका लागि काठमाडौं पठाइएको छ।
साथै सो क्षेत्रमा सामाजिक विकासमन्त्री युवराज दुलाल र अर्का मन्त्री अरुण नेपाल पनि पुगेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।