काठमाडौं-१ सय २ मेगावाट उत्पादन क्षमताको मध्यभोटेकोसी जलविद्युत आयोजना क्षेत्र बाढीका कारण डुबानमा परेको छ।
आयोजना प्रमुख सुनीलकुमार लामाका अनुसार बाढी र पहिरोका कारण आयोजनामा भएको क्षतिको यकिन भईसकेको छैन। तर बाढीबाट पुरै आयोजना प्रभावित भएको छ।
‘आयोजनामा क्षति भएको छ। हामी अझै आयोजनास्थलमा पुग्न सकेका छैनौं। पावरहाउसमा खोल्ची खोलाबाट आएको पानी पसेको छ र लेदो नै लेदो भरिएको छ,’ आयोजना प्रमुख लामाले भने, ‘इलेक्ट्रोमेकानिकल सामग्रीहरु बगाएको छ। सामान राखेको गोदाम पुरिएको छ।’
भोटेकोसी नदी नभई माथिबाट उर्लिएर आएका खहरेहरु आयोजना क्षेत्रमा पसेको र अहिले त्यहाँ उद्धार टोली पुगिसकेको पनि उनले बताए।
बाह्रबिसे नगरपालिकाका मेयर निमफुन्जो शेर्पाले आयोजनामा व्यापक क्षति भएको बताए। ‘ड्याममा क्षति भएको छ। पावर हाउसमा पहिरो गएको छ। आयोजनाका सामान राखेको गोदाम केही बगाएको छ भने केही पुरिएको छ,’ मेयर शेर्पाले भने।
मध्यभोटेकोसी आयोजनाका पुरिएका सामान क्रेनले निकाल्ने काम भईरहेको मेयर शेर्पाले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।