काठमाडौं–सिन्धुपाल्चोकको बाह्रबिसेमा आएको बाढीबाट प्रभावितको उद्धारका लागि हेलिकोप्टरसहितको टोली घटनास्थल पुगेको छ। बागमती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलाल ‘शरद’ ले हेलिकोप्टर घटनास्थलमा पुगिसकेको र अब घाइतेहरुको उद्धार थालिने जानकारी दिए।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य माधव सापकोटा ‘सुबोध’ सहितको हेलिकोप्टर बाह्रबिसे पुगेको हो। उक्त हेलिकोप्टरबाट २ गम्भीर घाइतेलाई काठमाडौं ल्याइएको छ।
काठमाडौंबाट सभामुख अग्निप्रसाद सापकोटासहित गएको हेलिकोप्टर भने खराब मौसमका कारण धुलिखेलको आकाशबाट फर्किएको थियो।
मन्त्री दुलालका अनुसार सडक अवरुद्ध भएकाले घाइतेको उद्धारमा समस्या देखिएको छ। ‘सडक अवरुद्ध भएकाले घाइतेको उद्धार गर्न सकिएको छैन। प्रकृतिको अपार चुनौती सामना गर्न सुरक्षाकर्मी र स्थानीय जुट्नु भएको छ,’ उनले भने।
उद्धारमा कठिनाइ भइरहेको छ : प्रजिअ
सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले पहिरो र बाढीमा फसेकाहरुको उद्धारमा कठिनाइ भइरहेको बताए। सो ठाउँमा घाइतेहरुको कसरी उद्दार गर्ने र स्थानीयलाई कसरी सुरक्षित राख्ने भन्ने विषयमा जिल्ला विपद् व्यवस्थापन समितिको आपतकालीन बैठक बसेको पनि उनले जानकारी दिए।
बैठकले मौसम नखुलेसम्म उद्दार गर्न नसकिने निचोड निकालेको छ। ‘ठाउँठाउँमा बाटो अवरुद्ध छ, जान सक्ने अवस्था नै छैन’, विपद् व्यवस्थापन समितिको अध्यक्षसमेत रहेका प्रजिअ ढकालले भने, ‘हेलिकप्टरसमेत जानसक्ने अवस्था छैन, यस्तो बेला कसरी उद्दार गर्ने हामी अन्योलमा छौं।’
बाह्रबिसे नगरपालिका-५ जम्बुमा पर्ने एल्मो ठाडो खोलामा आएको बाढीले १४ घर बगाएको छ भने २जनाको शव फेला परेको छ । बाह्रविसे नगरपालिका–५ जम्बु निवासी निकेश बस्नेत र उनकी ३ वर्षीया छोरीको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए। गाउँका केही घर पनि क्षति पुर्याएको बाह्रविसे-५ का वडा कार्यालय सहायक बुद्ध श्रेष्ठले जानकारी दिए। जलेटार ब्यारेकमुनिको सडक खोलाले बगाएपछि त्यहाँभन्दा माथिको भौतिक सम्पर्क टुटेको छ।
खोलाले बाह्रबिसेमा दुई टहरा बगाएको छ। प्रहरीका अनुसार भोटेकोसी जलविद्युत आयोजनाको बाँधको भित्तोसहित बगाएको हुँदा त्यहाँभन्दा माथि जान सक्ने अवस्था छैन। जम्बु र भोटेकोसी गाउँपालिकाको बञ्जी जम्प नजिकै रहेका दुई स्थानमा मानवीय क्षति भएको तर ठाउँठाउँमा बाटोमा क्षति भएको कारण प्रहरीलाई सो स्थानमा पुग्न कठिनाइ भइरहेको छ। क्षतिको यकिन विवरण आइनसकेको प्रहरीको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।