काठमाडौं–सिन्धुपाल्चोकको बाह्रबिसेमा आएको बाढीबाट प्रभावितको उद्धारका लागि हेलिकोप्टरसहितको टोली अनुकूल मौसमको प्रतिक्षामा छ। बागमती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलाल ‘शरद’ ले मौसम अनुकूल हुनेबित्तिकै उद्धार कार्यमा हेलिकोप्टर पुर्याइने बताएका छन्।
काठमाडौंबाट सभामुख अग्निप्रसाद सापकोटासहित गएकाे हेलिकोप्टर खराब मौसमका कारण धुलिखेलको आकाशबाट फर्किएको थियो। त्यस्तै, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा सिन्धुपाल्चोकका युवा नेता माधव सापकोटा ‘सुबोध’ सहित गएको हेलिकोप्टर नेपालथोकमा इमरर्जेन्सी ल्यान्ड गरेर बसेको छ। सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले अन्तर्राष्ट्रिय विमानस्थलमा हेलिकोप्टरसहितको टोली अनुकूल मौसम पर्खिरहेको जनाएका छन्।
मन्त्री दुलालका अनुसार सडक अवरुद्ध भएकाले घाइतेको उद्धारमा समस्या देखिएको छ। ‘सडक अवरुद्ध भएकाले घाइतेको उद्धार गर्न सकिएको छैन। प्रकृतिको अपार चुनौती सामना गर्न सुरक्षाकर्मी र स्थानीय जुट्नु भएको छ । मौसम थोरै अनुकूल हुनासाथ उद्धार कार्यमा हेलिकोप्टर पुग्नेछन्,’ उनले भनेका छन्।
बाह्रविसेको जम्बु बजारमा गएराति आएको बाढीबाट २ जनाको मृत्यु भएको छ भने १८ जना बेपत्ता भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।