काठमाडाैं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सिन्धुपाल्चोकको बाह्रबिसेमा भोटेकोसी र स्थानीय ठाडो खोलामा आएको बाढीमा परेकाहरुकाे उद्धारमा खटिन कार्यकर्ताहरुलाई निर्देशन दिएका छन्। बाढी र पहिरोले ठूलो जनधनको क्षेत्र पुग्ने देखिएको भन्दै सभापति देउवाले सिन्धुपाल्चोकका कांग्रेस कार्यकर्तालाई तत्काल उद्धारमा खटिन निर्देशन दिएका हुन्।
बिहीबार बिहान ट्विट गर्दै देउवाले छिटोभन्दा छिटो उक्त्त क्षेत्रमा उद्धार टोली खटाएर थप मानविय र भौतिक क्षेत्र हुनबाट जाेगाउन सरकारलाई अनुरोध गरेका छन्।
सिन्धुपाल्चोककाे बाह्रबिसेमा भोटेकोसी र स्थानीय ठाडो खोलामा आएको भीषण बाढी र पहिराेमा परी करिब २० घर बगाएको छ भने २ जनाको मृत्यु भएको छ। मृत्यु हुने २ जनाको पहिचान भएको छ।
स्थानीयका अनुसार मृत्यु हुनेमा बाह्रबिसे जम्बुका २० वर्षीय निकेश बस्नेत र उनकी ३ वर्षीया छोरी छन्। उनीहरुको शव स्थानीयले फेला पारेका हुन्।
बाढीले बाह्रबिसे नगर गातिको जम्बु पुलसहित बजार चुर्लुम्मै डुबेको छ। बाह्रबिसे नगरपालिकाका मेयर निमफुन्जी शेर्पाका अनुसार बाढीले नगरपालिकाको वडा नम्बर ३ र ५ को बीचमा रहेको पक्की पुलमा समेत क्षति पुर्याएको छ भने त्यहाँ सडकसमेत बगाएको छ। उक्त स्थानमा करिब १२ घर बगाएको समेत उनले जानकारी थिए।
यस्तै, वडा नम्बर ५ र ८ को बीचमा रहेको ठाडो खोलामा आएको बाढीले ८ वटा घर बगाएको जानकारी आएको उनले बताए। त्यहाँ १८ जना बेपत्ता भएको उनले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।