काठमाडौं- तीस वर्ष सेवा अवधि पूरा गरी सेवानिवृत्त हुन लागेका प्रहरी महानिरीक्षक (आइजिपी) ठाकुरप्रसाद ज्ञवालीलगायतका नेपाल प्रहरीका अधिकृतहरूलाई बिदाइ गरिएको छ। बुधबार एक समारोह आयोजना गरी उनीहरुलाई बिदाइ गरिएको हो। आइजिपी ठाकुरका साथै प्रहरी अतिरिक्त महानिरीक्षक तारिणी प्रसाद लम्साल र प्रहरी नायब महानिरीक्षक सूर्य प्रसाद उपाध्यायलाई प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष समारोहमा बिदाइ गरिएको हो। नवनियुक्त प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले फूलमाला लगाई हार्दिक बिदाइ गरेका हुन्।
बिदाइ समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक ज्ञवालीले तीन दशक लामो प्रहरी सेवाको व्यावसायिक यात्राबाट औपचारिक विश्राम लिई निवृत्त हुनलाग्दा आफूलाई हार्दिकतापूर्वक सम्मान दिएकोमा नेपाल प्रहरी र नवनियुक्त प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीप्रति हार्दिक आभार प्रकट गरेका थिए।
प्रहरी महानिरीक्षक ज्ञवालीले आफ्नो कार्यकालमा संगठनमा सामूहिक निर्णय प्रक्रियालाई संस्थागत गर्ने, कर्मचारीहरुको कार्यक्षमता तथा कार्यकौशल अनुरुपको मूल्याङकन पद्धति संस्थागत गर्ने, सेवा प्रवाहमा गुणस्तरीयता ल्याउने र संगठनका हरेक सदस्यहरुको संगठनप्रतिको अपनत्व र भातृत्वभाव बढाउन जोड दिएको बताए। कोरोना भाइरसको विश्वव्यापी संक्रमणको प्रकोपको कारण राज्यसँगै प्रहरीको प्राथमिकता र कार्यशैलीले अनेपक्षित मोड लिन बाध्य भएतापनि आफ्नो दृष्टिकोणलाई डगमगाउन नदिई संगठनमा प्रहरी कर्मचारीको वृत्तिविकास लगायतका विविध सुधारका पक्षलाई गति दिएको उनले उल्लेख गरे।
‘दिनेले सेवा दिए भन्नु मात्र पनि पर्याप्त हुँदैन, सेवा पाउनेले पनि पाएको महसुस गर्नुपर्छ। प्रहरी कर्मचारीहरुमा उत्तरदायी सेवा प्रवाह र व्यवहारमा सुधार हुनुपर्ने प्रशस्त स्थान रहेको छ,’ उनले भने ।
समारोहमा नवनियुक्त प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले सेवानिवृत्त हुन लागेका ठाकुरसहितका वरिष्ठ प्रहरी अधिकृतलाई दीर्घ सेवा सम्मान प्रदान गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।