एजेन्सी- अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आइतबार ८ देशका नागरिकमाथि अमेरिका प्रवेशमा प्रतिबन्ध लगाएका छन्।
उत्तर कोरिया, भेनेजुएला र चाडका नागरिकमाथि समेत उनले अमेरिका प्रवेशमा प्रतिबन्ध लगाएका हुन्। यसअघि उनले इरान, लिबिया, सिरिया, यमन र सोमालियाका नागरिकमाथि अमेरिका यात्रा-प्रवेशमा प्रतिबन्ध लगाएका थिए। यसपटकको प्रतिबन्धमा दक्षिण अमेरिकी राष्ट्र भेनेजुएला र एसियाली राष्ट्र उत्तर कोरियालाई उनले समावेश गरेका हुन्। यी दुई देशबाहेक सबै मुस्लिम बहुल छन्। यसअघि यात्रा प्रतिबन्ध लगाइएको सुडानलाई भने यो सूचीबाट हटाइएको छ।
यसैबीच, ट्रम्पले लगाएको यात्रा प्रतिबन्धबारे त्यहाँको सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ। यसअघि उनले लगाएको प्रतिबन्ध सीमित अवधिका लागि थियो भने अहिलेको प्रतिबन्ध आदेशको समय तोकिएको छैन।
आदेश जारी गरेको केहीबेरपछि ट्रम्पले सामाजिक सञ्जाल ट्विटरमा 'अमेरिका सुरक्षित पार्नु आफ्नो पहिलो प्राथमिकता भएकाले अमेरिकाको सुरक्षामाथि खतरा बन्न सक्नेहरूलाई देशमा पस्न नदिने' उल्लेख गरेका थिए।
ट्रम्पले मार्चमा जारी गरेको प्रतिबन्ध आदेशको वैधानिकता आइतबार साँझ सकिँदै थियो। नयाँ आदेश अक्टोबर १८ देखि लागू हुनेछ। इराकी नागरिकमाथि अमेरिका यात्रामा प्रतिबन्ध नलगाए पनि विशेष जाँचबुझ गरिनेछ।
मानव अधिकारवादी संस्था एमनेस्टी इन्टरनेसनलको अमेरिकी शाखाले ट्रम्पको कदमको भर्त्सना गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।