दमाैली- अवैधरूपमा नदीजन्य पदार्थ उत्खनन गर्ने ट्र्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। तनहुँकाे व्यास नगरपालिका–१० बैरेनीस्थित मादी नदी किनारमा रातको समयमा नदीजन्य पदार्थ उत्खनन गरी निकासी गर्दै गरेको अवस्थामा प्रहरीले तीन वटा ट्र्याक्टर नियन्त्रणमा लिएको हो।
नियन्त्रणमा लिइएका ट्र्याक्टरलाई आवश्यक कारवाहीका लागि नगरपालिकामा पठाइएको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए। प्रहरीले अवैधरूपमा नदीजन्य पदार्थ उत्खनन गर्ने सवारीसाधन नियन्त्रणमा लिने कार्यलाई तीव्रता दिएको जनाएकाे छ।
प्रहरी नायब उपरीक्षक तिमिल्सिनाका अनुसार विभिन्न स्थानमा अवैधरूपमा भइरहेको प्राकृतिक स्रोत दोहनका लागि विशेष अभियान चलाइएको छ। प्रहरीले पछिल्लो एक साताको अवधिमा जिल्लाका विभिन्न स्थानबाट लुकीछिपी अवैधरूपमा नदीजन्य पदार्थ उत्खनन गर्दै गरेको अवस्थामा ट्र्याक्टर नियन्त्रणमा लिएको छ।
व्यास–५ स्थित साँगेखोला बगरबाट एक ट्र्याक्टर, शुक्लागण्डकी नगरपालिका–२ बाट दुई ट्र्याक्टर, आँबुखैरेनी गाउँपालिका–१ बाट एक ट्र्याक्टर र भानु नगरपालिकास्थित मर्स्याङदी नदीबाट एक ट्र्याक्टर नियन्त्रणमा लिएर कारवाहीका लागि सम्बन्धित स्थानीय तहमा पठाइएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।