फाइल तस्बिर
ललितपुर- जिल्ला प्रशासन कार्यालय ललितपुरमा आज बसेको बैठकले रातो मच्छिन्द्रनाथको रथारोहण र सोसम्बन्धी कार्य स्थगन गर्ने निर्णय गरेको छ। गुठी संस्थान कार्यालय ललितपुरले मीननाथका ञ्वाँल नाइके चिरीकाजी महर्जनलाई आज अपराह्न पत्र लेखी उक्त निर्णयबारे जानकारी गराएको संस्थानका कार्यालय प्रमुख राजन भुजुले बताए।
यसअघि ‘रक्तावलोकितेश्वर’को रथारोहण बुधबार हुने भनिएको थियो। काेराेना भाइरसकाे संक्रमण बढेकाले रथाराेहण स्थगित भएकाे हाे। मच्छिन्द्रनाथ गुठीसँग सम्बन्धित ज्योतिषीले बुधबार उत्तम साइत रहेको ठहर गरी पुल्चोकमा धमाधम वर्षा र सहकालका देवता बुँगद्योको रथ निर्माणको काम आजसम्म भइरहेको थियो।
केही दिनअघि संस्थान ललितपुरले तःबहालस्थित हाल राखिएको पाटीको भित्तामा समेत असार २४ गते रथारोहण हुने भनेर सूचना टाँस गरिसकेको थियो। 'हालको समय र परिस्थितिका कारणका हामीले भोलि (बुधबार) रथारोहण गर्ने कार्यक्रम स्थगन गरेका हौँ', संस्थान ललितपुरका कार्यालय प्रमुख भुजुले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।