काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्भवती र सुत्केरीको कोभिड-१९ परीक्षणलाई प्राथमिकता दिन सबै प्रयोगशाला र अस्पताललाई पत्राचार गरेको छ। असार २३ गते स्वास्थ्य सचिवस्तरीय निर्णयअनुसार सबै अस्पताल र प्रयोगशालालाई यस्तो निर्देशन दिइएको हो।
देशमा कोभिड-१९ का संक्रमित बढ्दै गएको र त्यसबाट गर्भवती र सुत्केरी प्रभावित भएको भन्दै उनीहरुलाई प्राथमिकता दिन मन्त्रालयले पत्राचार गरेको हो।
मन्त्रालयले कुनै पनि अस्पताल तथा प्रयोगशालामा गर्भवती र सुत्केरीको स्वाब संकलन र परीक्षण गर्नुपर्ने भएमा प्राथमिकतामा राखी संकलन गर्न र उक्त स्वाब लिइएको भाँडोलाई रातो फित्ता/डोरी/रिबनले बाँधेर सम्बन्धित प्रयोगशालामा पठाउन निर्देशन दिएको छ।
स्वास्थ्य मन्त्रालयका सहसचिव शैलजा रेग्मीले पठाएको पत्रमा सम्बन्धित प्रयोगशालाले पनि यस्तो रातो फित्ता लगाएर आएका स्वाबलाई पहिलो प्राथमिकता दिई परीक्षण गरी सोको नतिजा निस्कने बिक्तिकै सम्बन्धित निकायमा खबर गर्न भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।