लुम्बिनी- रुपन्देही क्षेत्र नं ३ का ८ सय २७ फुस्को र खपडाले छाएका घरका छाना विस्थापित गरिने भएको छ। कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसालले ती घरमा टिनको छानो लगाउन कार्यक्रम ल्याएको जानकारी दिए।
आगामी आर्थिक वर्ष २०७७/७८ मा जिल्लाको सिद्धार्थ नगरपालिकाको १ सय ४६, शुद्धोधन गाउँपालिकाको १ सय ५६, बुटवल उपमहानगरपालिकाको ८५, तिलोत्तमा नगरपालिकाको १०७ घरको छानो परिवर्तन हुनेछ। सियारीमा १ सय ३०, मायादेवीमा १०० र ओमसतिया गाउँपालिकामा १०३ घरमा टिनको छानो लगाइने जनाइएको छ।
क्षेत्र नं ३ का सांसद समेत रहेका मन्त्री भुसालले सुरक्षित नागरिक आवास कार्यक्रमअनुसार फुस र खपडाका घरमा बसिरहेकाको पहिचान गरी घरको छानो परिवर्तनमा सहयोग गर्न थालेको उनका स्वकीय सचिव मनोज रिजालले बताए।
उनले भने, ‘फुसले छाएको वा खपडाले छाएको घरको छानो स्तरोन्नति गर्नेगरी छनोट गरिएको छ। आगामी आर्थिक वर्षभित्र विपन्न तथा गरिब घरपरिवारको घरको छानो सबैको टिनको हुनेछ।’ गत वर्ष गुल्मीमा सञ्चालनमा आएको उक्त कार्यक्रम चालू वर्षमा कपिलवस्तुमा सञ्चालनमा रहेको थियो। शहरी तथा भवन डिभिजन कार्यालयको प्रत्यक्ष निगरानीमा सम्पन्न हुने उक्त कार्यक्रमअनुसार फुस, खरको छानो तथा खपडाले छाएको छानो मुक्त बनाउने गरी सञ्चालन गरिएको कार्यालयका प्रमुख इञ्जिनीयर राजेन्द्र पाण्डेले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।