काठमाडाैं- मनसुन सक्रिय भएकाले आगामी तीन दिन देशभर बदलीसहित वर्षाकाे सम्भावना रहेका छ। मौसम पूर्वानुमान महाशाखाले मनसुन सक्रिय भएसँगै केही दिन वर्षाको सम्भावना रहेकाले बाढी पहिरोबाट जोगिन आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।
मौसमविद् गङ्गा नगरकोटीका अनुसार आगामी तीन दिन देशभरि नै वर्षाको सम्भावना रहेको छ। महाशाखाले आगामी २४ घण्टा देशको सबै प्रदेशमा बदली रही मेघगर्जनसहित वर्षाको सम्भावना रहनुका साथै प्रदेश १, ५, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको बताएको छ।
ती क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल/पानीको राम्रो निकास नभएको ठाँउमा डुबानसमेत हुनसक्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरिएको छ।
मौसमविद् नगरकोटीका अनुसार शुक्रबार अपराह्नपछि देशका धेरैजसो स्थानमा मनसुनी बादल विकसित भई हल्कादेखि मध्यम वर्षा हुनेछ। हाल देशभर सामान्यदेखि पूर्ण बदली रही सुदूरपश्चिम, प्रदेश ५, बागमती र कर्णाली प्रदेशका केही स्थानमा हलकादेखि मध्यम वर्षा भइरहेको छ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २१ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम ३१ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।