काठमाडौं- आइतबार निधन भएका उसु खेलाडी वीरमान वाइबाको शव त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा राखेर अन्तिम श्रद्धाञ्जली अर्पण गरिएको छ।
युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार विश्वकर्मा, राखेपका उपाध्यक्ष पिताम्बर तिम्सिना, राखेपका सदस्य सचिव रमेशकुमार सिलवाल, नेपाली सेनाका उच्च पदस्थ अधिकृत, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीका संघका अध्यक्ष दीपक श्रेष्ठ, राखेपका पूर्व कोषाध्यक्ष मीनकृष्ण महर्जन, उसु र क्योकुसिनका खेलाडी, प्रशिक्षकलगायतले उनको पार्थिव शरीरमा पुष्पगुच्छा चढाई श्रद्धाञ्जली अर्पण गरे। नेपाली सेनाले श्रद्धाञ्जली सभामा अन्तिम सलामी दियो। वीरमान नेपाली सेनामा आबद्ध थिए।
वीरमानको आइतबार काभ्रेको बेथानचोकस्थित निवासमा निधन भएको थियो। २०५० सालमा जन्मिएका वीरमान उसु खेल्नु अघि क्योकुसिन करातेका खेलाडी हुन्। उनको सोमबार स्वयम्भूमा अन्त्येष्टि गरिएको नेपाल उसु महासंघले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।