काठमाडौं- अदालतको अन्तरिम आदेशपछि अवैध रुपमा आयात भएको टेस्लाका दुई इलेक्ट्रिक कार आयातकर्तालाई सुरक्षित राख्ने गरी भन्सार कार्यालयले बुझाएको छ। आयातकर्ता श्रीमा डिस्ट्रिब्युटर्स प्रालिले आधिकारिक आयातकर्ताको प्रमाण पेश गर्न नसक्दा गत माघदेखि गाडी भन्सारमै रोकिएको थियो।
अवैधरूपमा नेपाल भित्र्याइएका टेस्ला गाडी छुटाउन पाउनुपर्ने आयातकर्ताको मागबमोजिम अन्तरिम आदेश जारी गरेको सर्वोच्च अदालतले भन्सार विभागको ‘भ्याकेट’ खारेज गरेको थियो। असार ११ गते भन्सारको भ्याकेट खारेज गरेपछि आयातकर्ता श्रीमा डिस्ट्रिब्युटर्स १३ गते भन्सार पुगेको थियो। १३ गते शनिबार भएकाले १४ गत आइतबार श्रीमाका प्रतिनिधिलाई भन्सार कार्यालय वीरगञ्जले टेस्लाका दुई इलेक्ट्रिक कार सुरक्षित राख्ने गरी बुझाएको कार्यालय प्रमुख ढुण्डीराज निरौलाले बताए।
‘गाडी स्टार्ट नभएपनि यातायातबाट इन्जिनियर बोलाउँदासमेत खुलेन,’ निरौलाले भने, ‘कन्टेनर खोलेर मात्र हेरियो, गाडी स्टार्ट हुन पासवर्ड चाहिने रहेछ। अब प्राविधिक प्रतिवेदन आएपछिमात्र गाडी त्यसबारे निर्णय हुन्छ।’ तर सर्वोच्च अदालतको आदेशबमोजिम आयातकर्तालाई गाडी सुरक्षित राख्ने गरी बुझाइएको उनको भनाइ छ।
सर्वोच्चले जेठ २६ गते आयातकर्ता श्रीमा डिस्ट्रिब्युटर्सकै पक्षमा अन्तरिम आदेश जारी गरेको थियो। उक्त अन्तरिम आदेश खारेज गरिपाऊँ भन्दै भन्सार विभाग असार २ गते सर्वोच्च अदालत पुगेको थियो। श्रीमा डिष्ट्रिब्युटर्सले भन्सारले साविक बमोजिमकै कर तिरेको आधारमा गाडी छुटाउन पाउनुपर्ने मागदाबी गर्दै रिट दायर गरेको हो।
असार ११ गते भएको सुनुवाईमा न्यायाधीशद्वय सपना प्रधान मल्ल र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले भन्सारको माग बमोमिज आदेश जारी गर्न अस्वीकार गरेको हो। जेठ १५ मा आगामी आर्थिक वर्षको बजेट ल्याइएसँगै आर्थिक ऐनबाट लगाइएको जरिवाना तथा कर गैरकानुनी भएको र आफूलाई त्यसअनुसार व्यवहार गर्न नहुने मागदाबी गर्दै श्रीमा सर्वोच्च पुगेको थियो।
आर्थिक ऐन २०७६ अनुसार नेपालमा गाडी आयात गर्न उत्पादक कम्पनीले आधिकारिक बिक्रेताको प्रमाणपत्र दिएको हुनुपर्छ। तर श्रीमा डिस्ट्रिब्युटर्सले वाणिज्य विभागबाट लिएको एजेन्सी दर्ताको प्रमाणपत्रकै आधारमा आफू टेस्लाको आधिकारिक बिक्रेता भएको दाबी गरेको छ।
वीरगञ्ज भन्सार कार्यालयले श्रीमासँग उत्पादक कम्पनीले दिएको आधिकारिक प्रमाणपत्र पेस गर्न भनेपनि कागजातको सक्कल प्रति पेस गर्न सकेको छैन। अमेरिकी गाडी उत्पादक टेस्लाले हालसम्म कसैलाई पनि आधिकारिक बिक्रेता नियुक्त गरेको छैन।
वीरगञ्ज भन्सार कार्यालयले जाँचपास गर्दै छुटाएका गाडी कानुनविपरीत छुटेको समाचार सार्वजनिक भएपछि धादिङको गजुरीबाट फर्काइएको थियो। श्रीमा डिस्ट्रिब्युटर्सले ल्याएका दुईवटा टेस्लाका इलेक्ट्रिक कार २०७६ माघ १५ गते भन्सार जाँचपासमा शंका लागेको भन्दै फिर्ता गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।