काठमाडौं-धितोपत्र दोस्रो बजार आजबाट सञ्चालनमा आएको छ। नियमित रुपमा सेयर बजार खोल्न नेपाल धितोपत्र बोर्डले आईतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई निर्देशन दिएकाे थियाे।
कोभिड-१९ महामारी संक्रमण तथा रोकथामका लागि सरकारले जारी गरेको सुरक्षा मापदण्ड धितोपत्र बजारको कारोबारमा संलग्न हुने लगानीकर्ता, ब्रोकर, नेप्सेका कर्मचारी, सिडिएससी र मर्चेन्ट बैंकरहरुले पालना गर्नुपर्ने गरी बजार खोलिएको हो।
आज ११ बजेदेखि खुल्ने सेयर बजार नियमित कारोबार समय ३ बजे बन्द हुनेछ। त्यस्तै सर्किट ब्रेक, मूल्य परिवर्तन सीमालगायत अन्य व्यवस्थाहरु पनि लकडाउनअघिको जस्तै रहने नेप्सेले जनाएको छ।
कोभिड-१९ महामारीका कारण धितोपत्र बजारमा देखिएको समस्यालाई मध्यनजर गर्दै नेप्सेले धितोपत्र कारोबार सञ्चालनसम्बन्धी (पहिलो संशोधन) विनियमावली २०७७ सोमबार लागू हुने गरी कार्यान्वयनमा ल्याएको छ। विनियमावलीको विनियम १० को उपविनियम २ को ट पछि खण्ड ठ थपिएको छ। जसमा कारोबार सदस्य तथा लगानीकर्ता बीचमा लेनदेन बाँकी रकमबाट सिर्जित दायित्व वा प्रतिफल सम्बन्धित विषय समेटिएको छ।
धितोपत्र बोर्डले लकडाउनका समयमा बजार सुचारु गर्न बजार सुधारसम्बन्धी आवस्यक कदमहरु चालेर सोमबारबाट धितोपत्रको कारोबार गर्न नेप्सेलाई निर्देशन दिएको थियो। बोर्डको निर्देशन अनुसार उपयुक्त स्वास्थ्य विधिहरु नअपनाई धितोपत्रको कारोबारसँग सम्बन्धित कार्यालय खोलेको पाईएमा त्यस्ता संस्थालाई कारबाही गरिनेछ।
त्यसैगरी आजको कारोबारमा स्टक ब्रोकरहरुले लगानीकर्ताका लागि स्क्रीन रुम सञ्चालन गर्न पाउने छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।