काठमाडौं- नेपाल धितोपत्र बोर्डले सोमबारबाट सेयर बजार खोल्न नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई निर्देशन दिएको छ। लकडाउनका समयमा बजार सुचारु गर्नका लागि बजार सुधारसम्बन्धी आवश्यक कदमहरु चालेर सोमबारबाट धितोपत्रको कारोबार गर्न बोर्डले नेप्सेलाई निर्देशन दिएको हो।
लकडाउनको अवधिमा धितोपत्रको दोस्रो बजार कसरी संचालन गर्न सकिन्छ भन्ने विषयमा बोर्डले विभिन्न निकायहरुसँग छलफल गरी तयार पारेको प्रतिवेदन आइतबार बसेको संचालन समितिको बैठकमा पेश गरिएको थियो। प्रतिवेदनमा समावेश भएका सुझावहरु यथासमयमा पुरा गर्दै जाने र सोमबारबाट बजार सुरु गर्नेगरी नेप्सेलाई निर्देशन दिइएको बोर्डले जनाएको छ।
दोस्रो बजार कारोबारमा स्थायित्व ल्याउने गरी सर्किट ब्रेक र मूल्य सीमासम्बन्धी उपयुक्त व्यवस्था गरी नेप्सले बजार सुचारु गर्ने व्यवस्था गर्न बोर्डले निर्देशन दिएको हो।
धितोपत्र बजारको कारोबारमा संलग्न हुने लगानीकर्ता, ब्रोकर, नेप्सेका कर्मचारी, सिडिएससी र मर्चेन्ट बैंकरहरुले कोभिड १९ का लागि सरकारले तोकको सुरक्षा मापदण्ड पुरा गर्नुपर्नेछ। उपयुक्त स्वास्थ्य विधिहरु नअपनाई कार्यालय खोलेको पाइएमा त्यस्ता संस्थालाई कारबाही गर्ने पनि बोर्डले जनाएको छ।
त्यसैगरी अर्को व्यवस्था नहुन्जेलसम्मका लागि स्टक ब्रोकरहरुले लगानीकर्ताका लागि स्कृन रूम संचालन गर्न पाउने छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।