इलाम– इलामको ठूलो टुँडिखेलमा वैसाख ६ गतेदेखि सञ्चालन हुन लागेको चौथो अन्तर्राष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकपको तयारी अन्तिम चरणमा पुगेको छ।
वैसाख ६ देखि १७ गतेसम्म सञ्चालन हुने गोल्डकपमा दर्शकका लागि बाँसको प्याराफिट निर्माण गरिएको छ। करीब १० हजार दर्शक अटाउन सक्ने क्षमताको प्याराफिट निर्माण गरिएको आयोजक माइभ्याली फुटबल क्लबका अध्यक्ष धीरेन चेम्जोङले जानकारी दिए। यस वर्ष ८ लाख रुपैयाँ खर्चेर प्याराफिट निर्माण गरिएको हो।
यस वर्ष नेपाल, भारत र बंगलादेशका १२ टिमको सहभागिता रहनेछ। भारतको दुर्गापुर स्टिल क्लब, सिक्किम युनाइटेड, र बंगलादेशको एएचएम कामारुजमानसहित त्रिभुवन आर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरीको (एपीएफ) क्लब, संकटा, थ्रीस्टार, मनाङ–मस्र्याङ्दी, झापा–११, कास्की–११ र आयोजक माइभ्याली फूटबल क्लबले प्रतिस्पर्धा गर्नेछन्।
विजेताले नगद ६ लाख ६६ हजार ६ सय ६७ रुपैयाँ र उपविजेताले ४ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन्।
सर्वोत्कृष्ट खेलाडीले यमाहाको १ सय ५० सिसीको मोटरसाइकल प्राप्त गर्नेछन्। त्यसैगरी, सर्वाधिक गोलकर्ताले नगद २५ हजार र म्यान अफ दि म्याचले जनही १० हजार रुपैयाँ प्राप्त गर्नेछन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।