काठमाडौं- नेकपाको स्थायी कमिटी बैठकको पहिलो दिन प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको काम, पार्टी एकतापछिको अवस्था र झाँगिदो गुटबारे चर्चा गरे। स्थायी कमिटी बैठकको अजेण्डामध्ये अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) पनि थियो। तर दुवै अध्यक्षले एमसिसीबारे बुधबारको बैठकमा केही बोलेनन्।
पार्टीका दुई अध्यक्ष एमसिसीबारे दुई धारमा विभाजित छन्। प्रधानमन्त्री ओली पास गर्ने पक्षमा छन् भने प्रचण्ड विपक्षमा। नेकपाभित्र एमसिसिबारे एक मत हुन नसक्दा सो सम्झौता प्रतिनिधिसभामा पुगेर अड्किएको छ। तर बुधबारको बैठकमा प्रधानमन्त्री ओलीले सरकारले गरिरहेको कामको बचाउमा अधिकांश समय खर्चिए भने प्रचण्ड पार्टी एकतापछिको अवस्था र सरकारको कमजोर कामको समीक्षामा केन्द्रित भए।
स्थायी कमिटी सदस्य सत्यनारायण मण्डलका अनुसार ‘प्रधानमन्त्री ओलीले सरकारका कामकारबाही, नेपालको सीमा समस्या समाधानका विषयमा आफ्ना कुरा राखेका थिए भने प्रचण्डले पार्टी एकता, कम्युनिस्ट आन्दोलन र सरकारका विषयमा चर्चा गरे। मण्डलले भने, ‘एमसिसीका विषयमा दुवै अध्यक्षले उल्लेख नै गर्नुभएन।’
एमसिसीको विषयलाई लिएर अध्यक्ष प्रचण्डले मंगलबार खुमलटारमा भेला बोलाएका थिए। उता ओलीले आफू निकट नेताहरुलाई बोलाएर एमसिसीका विषयमा रणनीति बनाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।