काठमाडौं- नेपाल धितोपत्र बोर्डले प्रारम्भिक शेयर निष्काशनका लागि बुक विल्डिङ प्रणाली लागू गर्न निर्देशिका तयार पारेको छ। बोर्डले तयार पारेको बुक विल्डिङसम्बन्धि निर्देशिकाको मस्यौदा तयार पारेर सुझाव माग गरेको छ। प्रारम्भिक मस्यौदाअनुसार १०० रुपैयाँमै प्राथमिक शेयर निष्काशन हुने प्रणाली तोडिने भएको छ।
कम्पनीको प्राथमिक मूल्य अब बजारले नै निर्धारण गर्नेछ। बुक विल्डिङ विधिअनुसार कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकले योग्य संस्थागत लगानीकर्ताहरूका लागि प्रारम्भिक विवरणपत्र जारी गर्नेछ। अहिलेको व्यवस्थाअनुसार धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकले लगानीकर्ताहरूका लागि सिधै मूल्यसहित सार्वजनिक निष्काशन गर्ने चलन छ।
यस मस्यौदाअनुसार अब बिक्री प्रबन्धकले संस्थागत लगानीकर्ताहरूसँग छलफल गरेर कम्पनीको प्राथमिक मूल्यको मूल्याङ्कन गरिनेछ। प्रारम्भिक सुझावमा संस्थागत लगानीकर्ताबाट आशय मूल्य प्राप्त गर्नुपर्ने व्यवस्था रहेको छ। खरिद आशय कम्तिमा ५ वटा संस्थागत लगानीकर्ताहरूबाट लिनुपर्नेछ।
उक्त संस्थागत लगानीकर्ताले दिएको आशय मूल्यको औषत मूल्य गणना गरी कम्पनीको प्राथमिक मूल्यको सीमा निर्धारण गरिने प्रारम्भिक मस्यौदामा उल्लेख छ। औषत मूल्य गणना गरी धितोपत्र बिक्री मूल्य सिमा निर्धारण गर्दा औषत मूल्यको २० प्रतिशतभन्दा तल वा माथि तोक्न सकिनेछ।
सीमा निर्धारणपछि नेपाल धितोपत्र बोर्डमा दर्ता गर्नुपर्ने हुन्छ। माथिका सबै काम गर्न बोर्डबाट अनुमति प्राप्त गर्नुपर्ने हुन्छ। कट अफ मूल्यका लागि बिक्री प्रबन्धकले कट अफ मूल्य निर्धारण गर्नेछ। योग्य संस्थागत लगानीकर्ताले आशय मूल्यका आधारमा सिडिएससीको प्रणाली मार्फत बोलकबोल गर्नेछ।
बोलकबोलमा जुन संस्थागत लगानीकर्ताले धेरै मूल्यमा बिड गर्छ उसैले कम्पनीको सम्पुर्ण शेयर प्राप्त छ। आफूले प्राप्त गरेको उक्त शेयर अण्डरराइटिङ गरी सर्वसाधारणलाई बिक्री गर्छ। यस्तो प्रणालीले अहिले १०० रुपैयाँमै पाउँदै आएको शेयरको भाउ महंगो पर्नेछ। भने अर्कोतर्फ प्राथमिक शेयर पनि बिक्न गाह्रो परेका कम्पनीको शेयर संस्थागत लगानीकर्ताले पहिला नै खरिद गरिसकेको हुँनाले प्राथमिक शेयर बिक्री नहुने यसअघिको समस्या समाधान हुन्छ।
अर्कोतर्फ कतिपय कम्पनीको एफपिओ मूल्य निर्धारण गर्दा हुँदै आएको विवाद पनि अन्त्य हुनेछ। नेपाल धितोपत्र बोर्डले कम्पनीको एफपिओ मूल्य निर्धारण गरिदिनेभन्दा बजारले नै मूल्य निर्धारण गरिदिन्छ। शिवम् सिमेन्टले बोर्डले अनुमति दिएको थप प्रिमियमसहित प्राथमिक मूल्यलाई सर्वसाधारणले खरिद नगर्दा समस्या आएको थियो। तर भोलिका दिनमा यस्ता कम्पनीले सजिलै शेयर बिक्री गर्न सक्नेछन्।
यदि संस्थागत लगानीकर्ताले नै शेयर खरिद गरेनन् भने निष्काशन प्रकृया नै रद्ध हुनेछ। जस्तो अहिले कतिपय जलविद्युत कम्पनीको प्राथमिक शेयर धेरै थोरै बिक्री भइरहेको छ। यदि यो प्रणाली लागू भयो भने सर्वसाधारणले जस्तै संस्थागत लगानीकर्ताले शेयर खरिद गरिदिएनन् भने पुरै निष्काशन बन्द हुनेछ। र अहिलेजस्तो अलि अलि भए पनि प्राथमिक शेयरबाट पुँजी जुटाउने काम बन्द हुनेछ।
संस्थागत लगानीकर्ताहरू मार्फत निर्धारण भएको कट अफ मूल्यमै सर्वसाधारणलाई बिक्री गर्नुपर्नेछ। संस्थागत लगानीकर्ताले सर्वसाधारणतर्फको शेयरको ५० प्रतिशतको लागि अण्डराइटिङ गर्नुपर्ने हुन्छ।
बुक विल्डिङ प्रणाली मार्फत एक सय रुपैयाँभन्दा माथिको मूल्यमा बोलकबोल भयो भने उक्त बाँकी रकम कम्पनीको जगेडा कोषमा रहनेछ। यस्तो व्यवस्थाले राम्रा कम्पनीको जगेडा कोष बलियो हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।