काठमाडौं– थाइल्यान्डस्थित नेपाली दूतावासको समन्वयमा एनआरएनए थाइल्यान्डले कोरोनाका कारण अप्ठ्यारोमा परेका नेपालीहरुसँगै मानव तस्करको पञ्जामा परेका नेपालीहरुलाई समेत उद्धार गरेर स्वदेश फर्काएको जनाएको छ। बुधबार थाइल्यान्डमा समस्यामा परेका २ सय ४७ नेपालीलाई नेपाल एयरलाइन्सको पहिलो उडानमार्फत स्वदेश पठाइएको थियो।
स्वदेश फर्किने प्राथमिकतामा परेका २ सय ४७ मा लकडाउनका कारण अप्ठ्यारोमा परेका, विद्यार्थी, पर्यटन भिसामा आएर रोकिएका, मानव तस्करीको पञ्जामा परेर उद्धार गरिएका तथा व्यापार व्यवसायको लागि थाइल्यान्ड गएर रोकिएका नेपालीहरु रहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) थाइल्यान्डले जनाएको छ।
बुधबार नेपाल फर्किएकामध्ये ३ जना मानव तस्करको पञ्जामा परेर थाइल्यान्डमा अलपत्र परेका नेपालीहरु हुन्। उनीहरुलाई थाइल्यान्डमा आवश्यक कानुनी प्रक्रिया पुरा गर्न गैरआवासीय नेपाली संघ (एनआरएनए ) थाइल्यान्डले सहयोग गरेर स्वदेश फर्काएको हो।
एनआरएनए थाइल्यान्डले अप्ठ्यारोमा परेकाहरुलाई स्वदेश फर्काउन विमानस्थल ल्याउने कामका लागि पनि सहयोग पुर्याएको थियो। दक्षिण थाइल्यान्डबाट बैंकक आउनुपर्ने अवस्थाका विद्यार्थीहरुको यातायात खर्च र स्वदेश फर्कनु अगाडि सबै यात्रुहरुलाई खानेकुराको समेत एनआरएनएले व्यवस्था गरिदिएको थियो।
थाइल्यान्डमा समस्यामा परेका थप नेपालीहरुको स्वदेश फिर्तिका लागि दोस्रो उडान २२ जुन अर्थात असार ८ गते सोमबार रहेको दूतावासले जनाएको छ।
भाडा ३ सय ९० अमेरिकी डलर कायम गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।