सरकारले यो वर्षका लागि एसइई नलिने भएको छ। कोरोना महामारीको कारण विद्यालय बन्द भएपछि सरकारले वैकल्पिक शिक्षण पद्धतिबाट पढाउने निणर्य पनि गरिसकेको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको निर्देशिकामा स्रोत र साधनको उपलब्धताको आधारमा पठनपाठन अघि बढाउन प्रदेश, स्थानीय सरकारलाई समन्वय गरी अघि बढ्न निर्देशन दिएको छ। वैकल्पिक शिक्षण विधिबाट कसरी पढाइ हुन्छ? परीक्षा रोकिएका कक्षा ११ र १२ र उच्च शिक्षाको परीक्षा कहिले हुन्छ जस्ता विषयमा आधारित रहेर शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोख्रेलसँग नेपाल लाइभका डिबी खड्काले गरेको कुराकानीको सम्पादित अंशः
सरकारले वैकल्पिक शिक्षण विधिबाट पढाइ सुरु गर्ने भएको छ। अब यो कसरी अगाडि बढ्छ?
विश्वव्यापी महामारी कोभिड-१९ को असर नेपालमा पनि पर्यो। यसले प्रभाव नपारेको कुनै क्षेत्र छैन। यो स्थितिमा वैकल्पिक शिक्षण विधि खोज्नुपर्नेमा हामी पुग्यौं। विश्वविद्यालयहरुलाई अनलाइन पढाउन भनिसकेका छौं। विद्यालयमा पढ्ने विद्यार्थीको सङ्ख्या ठूलो भएको कारण अहिलेको अवस्थामा विद्यालयमा पढाइ सम्भव पनि भएन। मनोवैज्ञानिक समस्या पनि कम गर्न हामीले वैकल्पिक शिक्षण विधिमा गएका हौं।
अनलाइन, टिभी, रेडियोबाट पढाउने भन्नुभएको छ। समय पनि तोकिसक्नुभएको हो?
यो अभियानबारेमा प्रधानमन्त्रीज्यूले नै भनिसक्नुभएको छ। १८ गते हामीले निर्देशिका तयार गर्यौं। तीनै तहको सरकार मिलेर कार्यान्वयन गर्ने हो। अब यो वर्ष पहिलेको जस्तो भर्ना अभियान चल्दैन। पास भएका विद्यार्थीको कक्षा चढाइएर पढाइ सुरु हुन्छ। अभिलेखीकरण गरिन्छ।
घरघरमा शैक्षिक सामग्री पुर्याइन्छ। घरलाई नै शिक्षालय बनाइन्छ। विद्यार्थी सचेत हुनुपर्छ। विद्यार्थीले पढ्नको लागि निश्चित समय छुट्याउनुपर्छ। अभिभावकले पनि त्यही अनुसार वातावरण मिलाउनुपर्यो। नजिकका विद्यालयले सहजीकरण गर्नुपर्यो। स्थानीय सरकारले पनि हेर्छ।
मानवस्रोत केन्द्रले बनाएको पाठ्यक्रम प्रिन्ट गरेर बाड्ने हो। रेडियो टिभीबाट पनि पढाई हुन्छ। स्थानीय तहको समन्वयमा समय तालिका तोकिन्छ। ९ बजेदेखि ३ बजेसम्म ९ र १० को कक्षा चलिरहेको छ, एनटिभी प्लसबाट। केबुलहरुको पनि भूमिका हुन्छ। प्रदेशलाई पनि पठाएका छौं। अनलाइन/अफलाइनबाट पढाइ हुन्छ।
विद्यार्थीले पनि बिहान उठ्ने, योग ध्यान गर्ने, पढ्ने, घरको काम गर्ने पनि हो। संकटको बेला आमनेसामने गर्न सकिएन तर प्रचुर मात्रामा प्रविधिको प्रयोग गरौं।
बजेट संयोजन कसरी गरिरहनु भएको छ ?
५० वटा सामुदायिक विद्यालय भएकालाई ३ लाख रुपैयाँ, ५० देखि सयसम्म भएकालाई ४ लाख र सयभन्दा माथि विद्यालय भएका पालिकालाई ५ लाख रुपैयाँ पठाएका छौँ।
यो पैसा स्रोत र पाठ्यसामाग्री पहुँच नहुने विद्यार्थीलाई सिकाइसँग जोड्न हो। पालिकाहरुले पनि प्रयोग गर्छ। प्रदेशले पनि विपद्को बजेट शिक्षामा पनि खर्च गर्छ। चुनौतीको बेलमा हस्तक्षेप गर्दै काम गर्दा प्रणाली बन्छ। सबै सरोकारवालाहरुले गम्भीरतापूर्वक लिइदिनुस्। बालबच्चाको सिकाइ र हेरविचार गर्ने भनेका छौं।
एसइई त यसपटकलाई टुंगियो। अब कसरी मूल्यांकन हुन्छ?
विद्यालयहरुले शिक्षा विकास तथा समन्वय इकाइमा आफ्ना मूल्यांकन पठाउँछन्। त्यो आधारमा राष्ट्रिय परीक्षा बोर्डले प्रमाणीकरण गर्छ र प्रमाणपत्र दिन्छौं। केही दिनमा मन्त्रिपरिषद्को यो निणर्य राजपत्रमा छापिएपछि काम अघि बढ्छ। मलाई लाग्छ, एक महिनाभित्र काम सकिन्छ।
कतिपयले एसइई खारेज गरे पनि हुन्छ भनिरहेका छन्। यसपटक चालिएको कदम त्यसैको संकेत हो?
संघीय शिक्षा ऐन कानुन मन्त्रालयमा पुगेको छ। हामीले प्रदेशको मातहतमा गर्ने भनेका छौं, एसइई। एसइई खारेज गर्नुहुन्न किनभने सेना प्रहरी, खरिदारको लागि १० पासको सर्टिफिकेट चाहिन्छ, छोडिहाल्न पनि हुँदैन। यसका बाबजुत विज्ञहरुको सुझाब त आएको छ। हामीले यसलाई सकारात्मक रुपमा लिएका छौं।
११ र १२ को परीक्षाको समय घर्कियो। स्नातकको पनि त्यस्तै छ। एसइई कै तरिकले प्रमाणपत्र दिने कि कस्तो छ तयारी?
१२ को परीक्षाको यो ढगंले टुंगिदैन भन्नेमा नै छु। तर परिस्थिति बलवान् हुन्छ। सधैं यस्तो हुन्न। कक्षा ११ को परीक्षा लिनैपर्ने बाध्यता छैन। अनुकूल मिलाएर परीक्षा लिने हो।
राष्ट्रपति शैक्षिक कार्यक्रमको निरन्तर विरोध भइरहेको छ तर पनि सरकारले पोहोरभन्दा यसपालि एक अर्ब बढी बजेट छुट्याएको छ। यो कार्यक्रममा किन यति धेरै लगाव?
राष्ट्रपतिको सचिवालयले त्यो पैसा खर्च गर्ने हैन। राष्ट्रपति जस्तो सम्मानित संस्थालाई विवादमा ल्याउने काम नगरे हुन्थ्यो। पहिले पनि राष्ट्रपति चुरे संरक्षण कार्यक्रम चलेकै हो। कहिलेकाहीँ के हुन्छ भने मन्त्री, सभामुख, राष्ट्रपति प्रधानमन्त्री ऐतिहासिक विद्यालयहरुमा जाँदा विभिन्न मागहरु हुन्छन्। त्यो पूरा गर्नको लागि यस्तो पैसा आवश्यक हुन्छ।
उच्च शिक्षा अध्ययनको लागि बाहिर देशका क्याम्पसले बोलाइरहेका छन् भन्ने विद्यार्थीको भनाइ छ। सरकारले के गर्छ ?
विमानहरु बन्द छन्। तत्कालको परिस्थितिलाई हेर्दा जान सक्ने अवस्था छैन।
पढाई अनश्चित बनेको छ। कहिलेदेखि कक्षाहरु निरन्तर चल्लान्?
विपदलाइ हेरेर काम गर्ने हो। यो वर्ष शैक्षिक संस्था अबका दुई महिनासम्म खोल्ने अवस्था छैन। बन्दाबन्दी अन्त्य भएको छैन। कोभिड-१९ को भ्याक्सिन नबनेको हुनाले परिस्थितिमा फेरबदल हुन सक्छ। यही भन्न सक्ने अवस्था छैन।
हाम्रो शिक्षामा स्वास्थ्य सम्बन्धमा एकदमै कम जानकारी छ। रोग लाग्यो भने के गर्ने, रोग लाग्न नदिन के गर्ने? रोगप्रतिरोधात्मक क्षमता कसरी अगाडि बढाउने भन्ने पाठ्यपुस्तक छैन। के कोरोनाकै कारण यस्ता पाठ्यसामाग्री परिर्वतन हुन्छ?
हामीले कक्षा ४ देखि नै आयुर्वेदिक प्राकृतिक चिकित्साको कुरा जोडेका छौं। केही दिनअघि भएको पाठ्यक्रम विकास केन्द्रको बैठकमा मैले यो कुरा भनेको छु। वास्तवमा भन्ने हो भने हाम्रा भान्सामा प्रयोग हुने अदुवा, लसुन, बेसार लगायतका जडिबुटीजन्य कुराहरु छन्। यसको प्रयोग बढाउनुपर्छ। हाम्रो पूर्वीय दर्शनलाई वास्तै नगर्ने पश्चिमाहरुको जे पनि अनुसरण गर्ने गलत बानी छ। यो त्याग्न पर्यो। नास्ट अन्तर्गत अनुसन्धान गर्ने भनेको छु।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।