चौतारा- सिन्धुपाल्चोकमा थप एक जनामा कोरोना संक्रमण भेटिएको छ। भारतबाट फर्केर मेलचौरस्थित क्षेत्रीय क्वारेन्टाइनमा बस्दै आएका चौतारा साँगाचोकगढी नगरपालिका–१४ का २४ वर्षीय युवामा संक्रमण भेटिएको हो।
काठमाडौं टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले पिसिआर विधिबाट थ्रोट स्वाब परीक्षण गरी पठाएको रिपोर्टमा युवामा कोरोना पोजेटिभ पुष्टि गरिएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए। गएको जेठ २६ गते भारतबाट फर्केका उनलाई सिधै क्वारेन्टाइनमा राखिएको थियो।
क्वारेन्टाइनको एक कोठामा उनी अरु दुई जनासँगै बसेका थिए। उनीहरु भारतदेखि सँगै आएका हुन्। क्वारेन्टाइनको सम्पर्कमा आउनुअघि तीनै जनाले काठमाडौंको मनोहरामा एक रात बिताएको पाइएको छ। दुईको भने रिपोर्ट आइनसकेको प्रजिअ ढकालले बताए। संक्रमितलाई चौतारा अस्पतालको आइसोलेसनमा राखेर उपचार थालिएको छ।
योसँगै जिल्लामा संक्रमितको संख्या ६ पुगेको छ। तीमध्ये संक्रमित एक महिलाको भने मृत्यु भइसकेको छ। उनी कोरोनाबाट ज्यान गुमाउने मुलुककै पहिलो थिइन्। मृत्युपछि धुलिखेल अस्पतालमा गत वैशाख १ गते महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो। पछिल्लो संक्रमित युवासहित तीन जना भारतबाट फर्केका हुन्। दुई संक्रमित भने दोलखाबाट आएका थिए। एक संक्रमित उपचारपछि निको भएर घर फर्केका छन्। अरुको उपचार भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।