काठमाडौं- लगातारको वर्षापछि पहिरो जाँदा नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ। चितवनको इच्छाकामना गाँउपालिका वडा नम्बर ६ मा पहिरो जाँदा सडक अवरुद्ध भएको हो।
इच्छाकामना गाउँपालिकाको वडा नम्बर ६ चार किलोमा पहिरो खस्दा बुधबार बिहान करिब साढे ३ बजेबाट सडक अवरुद्ध भएको हो। सडक विस्तारको क्रममा उच्च जोखियुक्त क्षेत्र निर्धारण भएको उक्त क्षेत्रमा पहिरो रोकथामको काम भइरहेको थियो।
पहिरो रोकथामको काम भइरहेको स्थानमा नै पहिरो खसेर सडक नै अवरुद्ध भएको हो। पहिरोले गर्दा पहिरो रोकथामको लागि जडान तयार गरिएको स्काफफोल्फिङ समेत भत्काएको ईन्जिनियर शिव खनालले बताए।
सडक अवरुद्ध हुदाँ सयौं मालबाहक तथा निजी सवारीसाधन अलपत्र परेका छन्। लोडर लगायतको तिनवटा मेसिन प्रयोग गरेर पहिरो हटाउने प्रयास भएपनि अहिलेसम्म सडक सुचारु हुन सकेको छैन। पहिरो ठूलो भएकाले पहिरो हटाउन समय लागेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।