काठमाडौं- नेपाल धितोपत्र बोर्डले सेयर धितोमा प्रवाह गरिने कर्जा तथा विद्युतीय रकमान्तर सीमा सम्बन्धमा बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन जारी गरिदिन भन्दै नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेको छ।
बोर्डले सेयर धितोमा मूल्यांकनको ७५ प्रतिशतसम्म कर्जा पाउने व्यवस्था गरिनुपर्ने, सेयर धितोमा लिएको कर्जाको ब्याज तिर्ने समय असोज मसान्तसम्म बढाउनपर्ने र मार्जिन कारोबारका लागि प्रवाह गर्ने ऋणको ब्याजदर प्रत्यक्ष सेयर धितोमा प्रवाह गर्ने कर्जाको ब्याजदरभन्दा कम हुनेलगायतका व्यवस्था गर्न आग्रह गर्दै राष्ट्र बैंकलाई पत्राचार गरेको हो। अहिले बैंक तथा वित्तीय संस्थाबाट सेयर धितोमा मूल्यांकनको ६५ प्रतिशतमात्रै कर्जा पाउने व्यवस्था छ।
कोरोना महामारीको धितोपत्र बजारमा परेको असर, लगानीकर्ताहरुको बजार सुधारसम्बन्धी माग तथा हालको विषम परिस्थितिमा बजारको माग पक्षलाई समेत सम्बोधन हुनेगरी बजार सञ्चालन गर्नुपर्ने आवश्यकता रहेकाले बोर्डले राष्ट्र बैंकलाई यस्तो अनुरोध गरेको हो।
बोर्डले राष्ट्र बैंकलाई पठाएको पत्रमा ‘बैंक तथा वित्तीय संस्थाहरुले सेयर धितोमा प्रवाह गर्ने कर्जामा सेयरको मूल्यांकनको ६५ प्रतिशतसम्म कर्जा प्रवाह गर्ने र मार्जिन कलको हकमा बैंक तथा वित्तीय संस्था स्वयंले मूल्य अनुगमन गर्ने व्यवस्था रहेकोमा सेयर धितोमा कर्जा प्रवाह गर्दा सेयरको मूल्यांकनको ७५ प्रतिशतसम्म कर्जा प्रवाह गर्न सक्ने र १० प्रतिशतभन्दा बढी मूल्य घटेको अवस्थामा मात्रै मार्जिन कल गर्ने व्यवस्था गर्न उपयुक्त हुने’ उल्लेख गरेको छ।
त्यस्तै, सेयर धितोमा गएको कर्जामा हालको महामारी तथा विषम परिस्थितिको अवस्थालाई हेरेर ब्याज तिर्नुपर्ने समय आगामी मसान्तसम्म बढाइदिने र मार्जिनको सीमाभित्रै रहेका ऋणहरु बक्यौता रकममा नै नविकरण गरिदिने व्यवस्था गरिनुपर्ने पनि बोर्डले राष्ट्र बैंकलाई पठाएको पत्रमा उल्लेख छ।
विद्युतीय माध्यमबाट लगानीकर्ता र धितोपत्र दलालबीच रकम पठाउँदा र प्राप्त गर्दा रकमान्तर हुने रकमको सीमा नरहने व्यवस्था कार्यान्वयन गराउनुपर्ने पनि पनि बोर्डको आग्रह छ। त्यस्तै बैंक तथा वित्तीय संस्थाहरुले धितोपत्र दलाल व्यवसायीलाई मार्जिन कारोबारका लागि प्रवाह गर्ने ऋणको ब्याजदर बैंक स्वयंले प्रत्यक्ष सेयर धितोमा प्रवाह गर्ने कर्जाको ब्याजदरभन्दा कम हुने व्यवस्था गरिनुपर्ने पनि राष्ट्र बैंकलाई पठाइएको पत्रमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।