काठमाडौं- सद्गुरु मास्टर्स कप अनलाइन इन्टरनेशनल कराते काता च्याम्पियनसिप २०२० मा नेपालले एक स्वर्ण र एक रजत पदक जितेको छ।
केरला कराते संघ, भारतको आयोजनामा भएको च्याम्पियनसिपको महिला ३५ वर्ष माथिको प्रतिस्पर्धामा नेपाली खेलाडी निता आचार्यले फिलिपिन्सकी ईसेल बोनो अक्विनोलाई फाइनलमा पराजित गर्दै स्वर्ण जितेकी हुन्। उनले २४.१४ अंक प्राप्त गरेकी थिइन्। उनकी प्रतिस्पर्धी अक्विनोले २३.८ अंक प्राप्त गरेकी थिइन्।
यस्तै कराते खेलाडी एवं प्रशिक्षक रविन्द्र मानन्धरले रजत जिते। ३५ – ४५ वर्ष उमेर समूह ‘ए’ बाट फाइनल प्रवेश गरेका उनी स्पेनका खेलाडी जिसस कनसुयगरासँग पराजित हुँदै रजत पाएका हुन्। जिससले २४.६४ अंक प्राप्त गर्दा मानन्धरले २४.३८ अंक प्राप्त गरेका थिए।
बिश्व कराते महासंघ र एशियाली कराते महासंघको नियममा खेलाइएको अनलाइनल च्याम्पियनसिपमा ३५–४५, ४५–५५, ५५–६५ र कुबुदो गरि ४ विधामा प्रतिस्पर्धा गराइएको थियो। च्याम्पियनसिपमा जापान, भारत, स्पेन, श्रीलङ्का, नेपाल, फिलिपिन्स, भियतनाम, भनेजुयला लगायतको सहभागिता रहेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।