काठमाडौं– स्पेनिस ला लिगा अन्तर्गत आइतबार राति भएको खेलमा रियल मड्रिडले आइबरलाई ३–१ ले हराएको छ। जितसँगै शीर्ष स्थानमा रहेको बार्सिलोनासँग अंक दुरी कम गरेको रियल मड्रिड उपाधि प्रतिस्पर्धामा बलियो बनेको छ।
खेल रियल मड्रिड प्रशिक्षक जिनेदिने जिदानको प्रशिक्षकका रुपमा दुई सयौँ खेल थियो। जसमा उनको जितको संख्या २ सय ३२ पुगेको छ। कोरोना भाइरसको माहामारीले लिग रोकिनुअघि रियल बेटिससँग हारेर दबाबमा परेको मड्रिड अहिले उपाधि दौडमा फर्किएको हो।
आइबरविरुद्ध खेलको चौथो मिनेटमा नै क्रुसले उत्कृष्ट गोल गर्दै रियल मड्रिडलाई अग्रता दिलाएका थिए। ३०औँ मिनेटमा सेन्टर ब्याकदेखि नै बढाएको काउन्टर अट्याकमा रामोसले गोल गरे। ३७औँ मिनेटमा मार्सेलोले गोल गरे। आइबरका लागि ६०औँ मिनेटमा बिगासले गोल गरे पनि पर्याप्त भएन।
लिगमा शीर्ष स्थानमा रहेको बार्सिलोनाको २८ खेलमा ६१ अंक छ भने दोस्रोमा रहेको रियल मड्रिडको २८ खेलमा ५९ अंक छ। तेस्रोमा रहेको सेभियाको ५० अंक छ। आइतबार राति नै एथ्लेटिको बिल्बाओसँग १–१ को बराबरी खेलेको एथ्लेटिको मड्रिड ४६ अंकसहित छैठौँ स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।