खोटाङ– राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले नेपाल विश्वमा खेलकुदका माध्यमबाट मात्र चिनिएको बताएका छन्।
‘नेपाललाई विश्वमा कुनै चिजले चिनाएको छ भने खेलकुदले चिनाएको छ,’ उनले भने, ‘राम्रो खान नपाए पनि, नाङ्गो खुट्टाले खेले पनि अमेरिका, बेलायतजस्ता देशलाई हराउने ल्याकत नेपाली खेलाडीसँग छ। खेलकै माध्यमबाट नेपाल विश्वमा चिनिएको छ।’
खोटाङको दिक्तेलमा सोमबार आयोजित दशौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले अभावै–अभावका बीचमा पनि नेपाली खेलाडीले शक्तिशाली भनिएका देशलाई हराएर नेपाली खेलकुदको सम्भावनालाई फराकिलो बनाएको दावी गरे। दिक्तेलस्थित माटीकोरे खेल मैदानमा आयोजना गरिएको कार्यक्रममा सहभागीलाई सम्बोधन गर्दै उनले खेल क्षेत्रलाई उपेक्षा गरेसम्म देशको विकास सम्भव नहुने दावी गरे।
‘खेलकुदबाट युवा अनुशासित बन्छ, स्वस्थ बन्छ, सभ्य बन्छ, कुलतबाट टाढा रहन्छ,’ उनले भने, ‘खेलकुद अहिलेसम्म उपेक्षामा परेको क्षेत्र हो। खेलकुदलाई यसरी उपेक्षा गरेर विकास सम्भव छैन।’
सचिव विष्टले नेपाललाई विश्वमा सगरमाथा र गौतम बुद्धको नामबाट मात्र नभई अब खेलकुदको माध्यमबाट चिनाउनु पर्नेमा जोड दिए। ‘सगरमाथा निर्माण हामीले गरेका हैनौँ। बुद्ध पनि धेरै पहिले जन्मिएका हुन्।’ उनले भने,‘अब हाम्रो पसिना र मेहनतले नेपाललाई विश्वसामु चिनाउनुपर्छ। त्यो खेलकुदबाट मात्र सम्भव छ।’
‘अहिलेको सरकार खेलकुदमैत्री छ,’ उनले भने, ‘मन्त्रिपरिषद्को पहिलो बैठकबाटै हाल रहेका ७ वटै प्रदेशमा अन्तर्राष्ट्रियस्तरको खेल मैदान निर्माण गर्ने निर्णय गरिएको छ। यो अहिलेसम्मको कुनै पनि सरकारले गरेको थिएन। हामीले सरकारको निर्णयको स्वागत गरेका छौँ।’ रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।