एजेन्सी- पेरुमा एक डाक्टरले मानिसलाई कोरोना भाइरससँग बच्नका लागि क्लोरिन डाइअक्साइड खाने गलत सल्लाह दिएपछि उनलाई पदबाट बर्खास्त गरिएको छ।
डा अमीलकार वांकावारी कोरोना भाइरस महामारीसँग लड्न बनाइएको दक्षिणी प्रान्त आयाइचोको उद्धार टिमका प्रमुख थिए। क्लोरिन डाइअक्साइड ब्लिचको रुपमा प्रयोग हुने कीटनाशक हो। यो मानिसका लागि घातक हुने बताइएको छ। डा वांकावारीले जो मानिसमा कोरोना भाइरसको लक्षण देखिएको छ उसलाई यो केमिकल दिनुपर्ने दाबी गरेका थिए।
एक पत्रकार सम्मेलनमा उनले कोरोना भाइरसका बिरामीको उपचारका लागि क्लोरीन डाइअक्साइडको परीक्षण भइरहेको र यसले बिरामीको स्वास्थ्यमा सुधार आएको देखिएको दाबी गरेका थिए। उनको यो भनाइपछि आयाइचोका गर्भनर कार्लोस रुआले पत्रकार सम्मेलन गर्दै डा वांकावारीको भनाइ निजी भएको र सरकारी प्रतिनिधिसँगको बैठकमा यस्तो कुनै छलफल नभएको स्पष्ट पारे। यसको केही घन्टापछि गर्भनर कार्लोसले वांकावारीलाई पदबाट हटाइएको घोषणा गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।