प्रतिकात्मक तस्वीर काठमाडौं- चाँगुनारायण नगरपालिका–७ स्थित भँगेरी डाँडामा निर्माण शुरु भएको अन्तर्राष्ट्रिय खेल मैदानको प्रदेशसभा सदस्यसहितको टोलीले अनुगमन गरेको छ। दुई अर्ब ४० करोडको लागतमा निर्माण हुने रग्बी बहुद्देश्यीय अन्तर्राष्ट्रिय खेल मैदान निर्माणका जमिन सम्याउने काम भइरहेकाले शनिबार अनुगमन गरिएको हो।
बागमती प्रदेश सदस्य कृष्णलाल भँडेल, सूर्यविनायक नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्र, नेकपा भक्तपुरका अध्यक्ष वचन देउजा, नेकपा र नेपाली कांग्रेसका नेताहरू, विभिन्न वडाका वडाध्यक्षसहितका जनप्रतनिधि र खेलाडीले उक्त क्षेत्रको अनुगमन गरेका थिए।
अनुगमनमा प्रदेश सदस्य भँडेलले प्रदेशबाट १ करोडको बजेट विनियोजनको तयारी भएको बताउँदै नेमकिपाले रङ्गशालाको विरोध गरे पनि यहाँका जनता र अरु दलको समर्थनका कारण यहीँ क्षेत्रमा रङ्गशाला बनाइने बताए। उनले विकास निर्माणमा फुटेर नभई जुटेर लाग्नुपर्ने बताउँदै म भनेर नभई हामी भनेर अगाडि बढ्न सके विकासमा आएको सबै अवरोधलाई चिरेर अगाडि बढ्नसक्ने बताए।
रङ्गशाला स्थानीय, प्रदेश र संघीय सरकारको बजेटमा निर्माण कार्य हुने कार्यक्रममा चाँगुनारायणका नगर प्रमुख सोमप्रसाद मिश्रले जानकारी दिए। उनले नेमकिपाले रंगशालाको विरोध गरेको बताउँदै खानेपानीको कुनै समस्या हुन नदिई यसको सुनिश्चितता गरेको बताए।
चालीस हजार दर्शक क्षमता रहने उक्त खेल मैदान निर्माणको पहिलो चरणको डिपिआरको काम सम्पन्न भई नगरपालिको बजेटमा हाल निर्माण कार्य अगाडि बढाइएको नगर प्रमुख मिश्रले जानकारी दिए। नगरपालिकाले यस आवमा ३५ लाख विनियोजन गरी बुट्यान हटाउने र मैदान सम्याउने काम गरिरहेको छ।
पाँच वर्षभित्रमा निर्माण सम्पन्न गरिसक्ने योजनाका साथ काम भइरहेको जिल्ला खेलकूद विकास समितिका अध्यक्ष श्रीभक्त कासिछ्वाले जानकारी दिए। आगामी आर्थिक वर्षमा चाँगुनारायण नगरपालिका र प्रदेश सरकारको बजेटमा मैदानको काम अगाडि बढ्ने उनको भनाइ छ। आगामी आर्थिक वर्षमा प्रदेश सरकारले दोस्रो चरणमा डिपिआरको बाँकी काम सम्पन्न गरी निर्माण कार्य अगाडि बढाउने तयारी गरेको प्रदेशसभा सदस्य भँडेलले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।