काठमाडौं- लकडाउनको समयमा मदिराको व्यापार गर्ने भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोर्स टंगाललाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले स्पष्टीकरण सोधेको छ।
लकडाउन अवधिमा अत्यावश्यक वस्तुको मात्रै बिक्री वितरणका लागि सरकारले अनुमति दिएपनि भाटभटेनीले मदिरा बिक्री वितरण गरेको भन्ने उजुरी विभागमा परेपछि स्पष्टीकरण सोधेको बजार अनुगमन शाखा प्रमुख सागर मिश्रले नेपाल लाइभलाई बताए।
‘लकडाउनका बेला अत्यावश्यक वस्तुमात्रै बिक्री वितरणका लागि पसल खोल्ने सरकारको निर्णयअनुसार भाटभटेनीले पनि दाल, चामल, नुन, चिनीलगायत खाद्यान्न र अत्यावश्यक वस्तुमात्रै बेच्नेगरी खुला गरिएको थियो। तर भाटभटेनीले मदिरा पनि बेचेको भन्ने विभागलाई गुनासो आयो।’ मिश्रले भने।
विभागले भाटभटेनीले बिक्री गरेको मदिराको बिक्री भएको समयसहित बिक्री बिल तीन दिनभित्र वाणिज्य विभागमा पेश गर्न भन्दै निर्देशन दिएको छ।
विभागले भाटभटेनी सुपरमार्केट टंगाललाई नै लकडाउन बीचमै एकचोटी कारबाही गरिसकेको छ। उपभोग्य सामानमा अधिकतम खुद्रा बिक्री मूल्य (एमआरपी) भन्दा बढी मूल्य असुलेको भेटिएपछि विभागले गत वैशाख १५ गते भाटभटेनीलाई ३ लाख रुपैयाँ जरिवाना गरेको थियो। त्यसबेला १ सय २० रुपैयाँ एमआरपी तोकिएको लाखमरी मिठाईलाई २ सय २० रुपैयाँमा बेचेको भेटिएपछि कारबाही गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।